जाजरकोट, २४ पुस । केहि बर्ष अघि जाजरकोटमा प्रायः सबै घरमा भैंसी पालिएका हुन्थे । कुनै घरमा त ३ देखि ६ वटासम्म दुहुना भैंसी हुन्थे । नलगाड नगरपालिका ४ को लहँगाउँ केही वर्ष पहिलेसम्म भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात मानिन्थ्योे । यहाँ अहिले २ सय ५० बढी परिवारको बसोबास छ । तर, अहिले अवस्था फेरिएको छ ।
चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरूष अन्य काम खोज्दै भारत जाने गरेकाले ब्याउने र दुहुना भैंसी समेत मासुका लागि बिक्री गर्ने क्रम बढेको किसान लाल बहादुर वलीले बताए । जिल्लाका अधिकांश परिवारले भैंसी पाल्न छोडिसकेका छन् । ‘पहिले दूध, दही, मोही र घिउ बिक्री गर्ने परिवार अहिले आफैं किनेर खान्छन्, ‘एउटा दुहुनो भैंसी नभएको त कुनै घर हुदैन्थे वलीले भने ।’
पहिले अन्य स्थानबाट दुधालु भैंसी खोज्नेहरू यसै गाउँमा आउँथे । टिनका टिन घिउ हुन्थ्यो अहिले सवै हरायो वलीको भनाई छ । मासुका लागि भैंसीको व्यापार गर्नेको आँखा परेपछि यहाँ भैंसीको किनबेच बढ्यो । पाल्न झन्झट हुने र स्थानीय स्तरमा चलेको भन्दा धेरै मूल्य पाइन थालेपछि स्थानीयले भैंसी बेचेको अर्का भैसीपालक किसान मालबहादुर खत्रीले बताए । कतिपय व्यापारीले पाल्न भन्दै किसानलाई झुक्याएर मासुका लागि भैंसी किन्ने गरेको खत्रीको भनाई छ ।
खत्रीका अनुसार, यहाँबाट किनिएका भैंसी व्यापारीले जिल्ला बाहिर राजधानी सम्म लगेर मासुका लागि बेच्ने वा आफैंले समेत काटेर मासु बेच्ने गर्छन । ‘सबै भैंसी किनेर मासु बेच्ने ठाउँतिर लगे,‘गाउँमा चलेको मूल्यभन्दा धेरै मूल्य दिएपछि सबैले धमाधम भैंसी बेच्न थाले, ‘अहिले गाउँमा दही दुध नै पाइँदैन्, खत्रीले भने ।’ जिल्लामा भैंसीको संख्या कम भएको छ ।
मासुको प्रयोजनका लागि दुधालु भैंसीको किनबेच बढेसँगै स्थानीय जातका भैंसी लोप हुने अवस्थामा पुगेको कुशे गाउँपापलिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । घरमा पाल्ने मान्छे पनि नभएकाले ब्याउने भैंसी साउनमा ५० हजार रुपैयाँमा बेचेको नलगाड ४ का रामबहादुर रावलको भनाई छ । पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो भएको भनेर पशु स्वास्थ्य चिकित्सकले जाँच गरी प्रमाणित गरिसकेपछि मात्र मासुका लागि प्रयोग गर्न पाउने व्यवस्था छ ।
तर यहाँ उक्त नियमको बेवास्ता गर्दै मासुकै लागि सबै खालका भैंसी जिल्ला बाहिर निकासी गर्नेक्रम निरन्तर चलिरहेको छ । गत बर्ष जाजरकोट जिल्लाबाट ७ सय बढी भैंसी जिल्ला बाहिर तस्करी भएको बताइएको छ । आजभोलि गाउमा भैंसी नै पाउन छाडेका छन । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ । कति स्थानीय तहले भैंसी बाहिर लैजान रोक लगाए पनि यो प्रभावकारी देखिएको छैन ।
















































। २४ पुष २०७७, शुक्रबार