राखेपले राष्ट्रिय संघसंग आज छलफल गर्ने

एजेन्सी । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदको विषयमा राष्ट्रिय खेल संघसंग आज (बुधबार) छलफल गर्दैछ । गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।

नवौंको विषयमा आवश्यक निर्णय लिन राखेपले राष्ट्रिय संघलाई छलफलमा बोलाएको हो । सातदोबाटोस्थित राखेपको अडिटोरियम हलमा छलफल बिहान ११ बजेपछि सुरु हुनेछ । युवा तथा खेलकुद मन्त्रालयमा मंसिर १७ गते बसेको मन्त्री स्तरीय बैठकले मंसिर २४ गते राष्ट्रिय खेल संघसंग छलफल गर्ने निर्णय गरेको थियो । मन्त्रालय र राखेपले पूर्व निर्धारित समयमा राष्ट्रिय खेल सञ्चालन गर्न सक्ने(नसक्ने विषयमा खेल संघसंग छलफल गर्नेछ ।

छलफलमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका खेल संघलाई बोलाईएको छ । सरकारले नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । स्विमिङ र सुटिङ्ग बाहेक सबै खेलका खेलस्थल तयार रहेको अवस्थामा पूर्वाधारले प्रतियोगिता आयोजनामा असर नगर्ने राखेपको भनाई छ । तर महामारीको रुपमा रहेको कोरोनाका कारण प्रशिक्षणनै नभएको अवस्थामा प्रतियोगिता गर्न कठिन देखिन्छ ।

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित २०३८ सालमा सुरु भएको राष्ट्रिय प्रतियोगिता ७७ सालसम्म आईपुग्दा ८ संस्करण मात्र सम्पन्न भएका छन् । अस्थिर सरकार र व्यवस्था परिवर्तनको मारको परेको राष्ट्रिय खेलकुद नियमित नहुनुमा खेलकुदका असक्षम नेतृत्व समेत जिम्मेवार रहदै आएका छन् ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालमा लगातार दुई राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्दै अनियमित रहने खेलकुद प्रतियोगिताको क्रमभंगता गरेका थिए ।

तपाईको प्रतिक्रिया