
जाजरकोट । जिल्लाका सात वटै स्थानीय तहका विद्यालय खुल्न थालेका छन । कोभिड १९ महामारीको त्रासका कारण चैत्र देखि बन्द रहेका विद्यालयहरु नौ महिना पछि पहिलो पटक खुल्न थालेका हुन् ।
भेरी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामी मंसिर १४ गते आइतवार देखि संचालन गर्ने नगर शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए । जिल्लाको बारेकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु खुलेका छन । गाउँ कार्यपालिकाको गत मंसिर ९ गते बसेको वैठकले गाउँपालिका भित्रका सबै विद्यालय खोल्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख रामबहादुर मल्लले बताए ।
जिल्लाको कुशे गाउँपालिका भित्रका सबै विद्यालय खुलिरहेको कुशे गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ । छेडागाड नगरपालिका भित्रका सबै विद्यालय सञ्चालनमा रही पठनपाठन सुरु गरिएको नगर उपप्रमुख सरिता वलीले जानकारी दिईन । शिवालय गाउँपालिका भित्रका सबै विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।
‘अहिले कक्षा ११÷१२ को परीक्षा चलिरहेका छ, चाडपर्वले विदा भएका विद्यालयहरु खुल्ने क्रम जारी छ उनले भने ।’ एक स्रोतका अनुसार जिल्लाको नलगाड नगरपालिका भित्रका विद्यालयहरु सञ्चालन भईरहेको पाईएको छ । जिल्लाको विकट मानिने चुनीचाँदेका सबै विद्यालय खुलिसकेको गाउँपालिका प्रवक्ता रामबहादुर नेपालीले बताए । उनले भने, ‘गाउँ कार्यापालिका वैठकको निर्णयले यहाँका विद्यालय खोलिएको छ ।’
नौ महिनापछि खोलिएका विद्यालयमा उपस्थित हुन पाउँदा जिल्लाका विद्यार्थीहरु निकै खशुी भएका छन । बारेकोट गाउँपालिका २ रोकायगाउँका दलबहादुर कामीलाई विद्यालय नखुल्दा बच्चाबच्ची विग्रने साह्रै डर लागेको थियो । अहिले विद्यालय खुल्दा आफु निकै खशी भएको भेरीमालिकालाई जानकारी दिए ।
यहाँका स्थानीय तहहरुले सामुदायिक तथा संस्थागत विद्यालयहरुले मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ को मापदण्ड भित्र रही पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार निर्देशन दिएका छन । लामो समय पछि पठन पाठन शुरु गर्ने निर्णयले अभिभावक र विद्यार्थी उत्साहित भएका छन् ।
कोरोना महामारीको प्रभाव विस्तारै हट्दै गएको र लामो समय देखि पठनपाठन नहुँदा शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको स्थानीय तहरुको भनाई छ । कोरोना महामारीको प्रभाव कायमै रहेकाले सचेतना अपनाएर पठनपाठन गर्न विज्ञहरुले सुझाव दिएका छन ।
















































। १३ मंसिर २०७७, शनिबार