खेतवारी बाँझो राखेमा वडा कार्यालयले सेवा नदिने !

खडक सुनार, मुगु : मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर ४ ले जिल्लामै पहिलो पटक अनौठो निर्णय गरेको छ । विकट मुगुमा रोग, भोक र गरिबीको अवस्था अहिले पनि उस्तै छ । यस्तो दुर्दशा हटाउन छायाँनाथ राराको वडा–४ का स्थानीयले खेतीकिसानी गर्दै आएको जग्गा बाँझै राखे वडा कार्यालयबाट उपलब्ध गराइने सरकारी सेवा–सुविधा नदिने निर्णय गरेको छ ।

३ मंसिरमा बसेको वडा कार्यालयको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । हिउँदे बाली नलगाएर जग्गा बाँझो राख्ने वडाभित्रका बासिन्दालाई प्राप्त गर्ने कुनै पनि सरकारी सेवा–सुविधा नदिने निर्णय भएको छायानाथ राराको वडा–४ ले जानकारी दिएको छ ।

वडा–४ मा रहेका भामबाडा, रावलबाडा र रोकायाबाडा बस्तीका बासिन्दाले जग्गा बाँझो राखेर परम्परागत रुपमा लगाउँदै आएको हिउँदे रैथाने बाली जौ र गहुँ उब्जाउन छाडेका छन् । ‘परम्परागत स्थानीय उत्पादन नासिन थालेपछि यसलाई हराउन नदिन वडा कार्यालयले सरकारी सेवा–सुविधासम्म रोक्ने निर्णय गरेको हो’, वडा नम्बर ४ का वडाध्यक्ष विष्णुकुमार भाम भन्छन्, ‘पछिल्लो समय बजारमा आयातीत खाद्यान्न भित्रिएपछि ग्रामीण भेगमा पाइने रैथाने बालीको उत्पादन हुन छाडेको छ ।

परम्परागत बाली बचाउन यस्तो कदम चालेका हौं ।’ कर्णालीका जिल्लामध्ये मुगु अर्गानिक जिल्लाका रुपमा परिचित छ । परम्परागत रुपमा उत्पादन हुने दर्जनौं प्रकारका अन्नबाली पनि यहाँ उब्जाउ हुने गर्छन् । तर, पछिल्लो समय खेतबारी बाँझै राखेर परम्परागत अन्न उब्जाउ गर्नेहरू घटेको भाम सुनाउँछन् । नगरपालिकाभित्रका अन्य बस्तीमध्ये यो वडाको बस्तीमा रहेका सबै जग्गामा एक वर्षमा दुई पटक अन्नबाली उत्पादन हुने भामले जानकारी दिए ।

उक्त वडामा कोदो, धान, मकै, सिमी, फापर, आलु बर्खे बाली र हिउँदे बालीमा जौ र गहुँ उत्पादन हुँदै आएको छ । ४ नम्बर वडाका केही बस्तीबासीले हिउँदे अन्नबाली जौं र गहुँ लगाउन छाडेर तरकारी खेती गर्दै आएको भामले बताए । वडा सरकारबाट जग्गा बाँझो राख्नेलाई सरकारी सेवा रोक्का गर्ने निर्णय गरेपछि केही कृषकले भने खुसी व्यक्त गरेका छन् ।

‘खाँदाछँदाको जग्गा बाँझै राख्ने, परम्परागत बाली नलगाएर बाहिरबाट अन्न किनेर खानेलाई वडा कार्यालयको सुविधा रोक्ने निर्णयपछि अब वडाका जग्गाजमिन भरिभराउ हुने भए’, छायानाथ रारा नगरपालिका वडा– ४ भामबाडाका कृषक अंख भाम भन्छन् ।

चार–पाँच वर्षअघि पाँच हलभन्दा बढी जग्गामा लगाएको बाली बिक्रीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको कृषक भीमबहादुर रोकाया सम्झिन्छन् । तर, पछिल्लो समय परम्परागत खेतबाली हुन छाडेको र जग्गा उपयोग गर्नेहरू पनि कम भएको उनको अनुभव छ । उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको वडा–४ का वडाध्यक्ष विष्णुकुमारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया