कक्षा १२ को परीक्षामा जाजरकोटबाट तीन हजार ६ सय १८ विद्यार्थी समावेश

परीक्षा दिदै बारेकाेटका विद्यार्थी तस्वीर  काली थापा

जाजरकोट । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा मंगलबार बाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको परीक्षामा जाजरकोट बाट ३ हजार ६ सय १८ विद्यार्थीहरुको भौतिक उपस्थिती रहेको छ ।

जिल्ला भर सञ्चालन भएको परीक्षा मर्यादित तरिकाले भएको जिल्ला शिक्षा विकास समन्वयन ईकाई जाजरकोटमा कार्यरक्त प्रा.स. तिलक भट्टराईले जानकारी दिए । उनका अनुसार, मंगलबार बाट सुरु भएको परीक्षामा काँही कतै बाट कुनै खालको गुनासो आएको छैन ।

स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरी जिल्लामा परीक्षा सञ्चालन गरिएको प्रा.स. भट्टराईले बताए ।  यस्तै, देशभरका ४ लाख ३२ हजार ५ सय परीक्षार्थी समावेश  भएका छन । बिहान ८ बजेबाट सुरु  हुने परीक्षा साढे एक घण्टाको हुनेछ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिने बताए । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।

उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए । परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् । प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ ।

परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

 

तपाईको प्रतिक्रिया