
वि.स. २०५३ सालमा जाजरकोटको कुशे गाउँपालिका ८ सांटा मा जन्मिएका साहित्यकार रमेश पौडेलको “लुकेको स्वर्ग” नामक कविता संग्रह २०७५ समेत प्रकाशित भएको छ । उहाँ संगै पछिल्ला साहित्यिक गतिविधीका विषयमा हाम्रो पुहँच टीमले कुराकानी गरेका छौँ प्रस्तुत छ बाँकी कुराकानी :
तपाईलाई स्वागत छ ?
धन्यवाद ।
तपाई आज भोली के काममा व्यस्त हुनुहुन्छ ?
आजभोली खास व्यस्त छैन । घरमा बसेर घरायसी कामका साथै साहित्यक रचनाहरु अध्ययन गर्ने र साहित्यक रचनामा विशेष ध्यान दिने गरेको छु ।
तपाईका साहित्यिक रचनाहरु केके हुन ? नयाँ तयारीमा के छ ?
मेरो पहिलो साहित्यिक रचना “लुकेको स्वर्ग” नामक कविता संग्रह २०७५ प्रकाशित भईसकेको छ । अन्य स्थानीय पत्रपत्रिकामा कविता गजलहरु प्रकाशित भएका छन । अवको तयारी भनेको मुख्य तय एउटा उपन्यास प्रकाशित गर्ने अन्तिम तयारीमा छु । र विशेष कारण ढिलो हुन पुगेको छ । त्यसमा पनि मेरो अन्य रचनाहरु गजल,मुक्तक, कथा, कविता, रचना गरिरहेको छु । समय अनुसार सबै प्रकाशित गर्ने जानकारी गराउँर्दछु । केही काव्य रचना, केही निबन्धहरु डायरीका पानाहरुमा कैद गरेर राखेको छु ।
तपाई साहित्यलाई कसरी बुझ्नुहुन्छ ?
मेरो विचारमा साहित्य भनेको, आफ्ना विचारहरुलाई शब्द मार्फत व्यक्त गर्न, र कलात्मक रुपमा प्रस्तुती दिनु नै साहित्य हो । साहित्यमा मुख्यतय मौलिकतामा ध्यान दिनुपर्छ । कसैको नक्कल तथा सिको गर्नुृभन्दा आफ्नै मौलिक शैली र परिवेश अनुसार साहित्य रचना गर्नु नै साहित्यकारको आफनै पहिचान झल्कन्छ । जस्तोकी साहित्यमा एकान्त वृद्धावनमा बसेर रात्ती आकाशको ताराहरु हेरेर सम्पन्नशाली राष्ट्रको कल्पना गर्न सक्नु नै साहित्यको एउटा गुण हो । साहित्य कल्पनाद्धारा शब्दले लेखिन्छ । र त्यो नै विचारमा पनि परिणत हुन्छ ।
तपाईको विचारमा जाजरकोटको साहित्य क्षेत्र अगाडि नबढ्नुको कारण के हो ?
जाजरकोटको साहित्य क्षेत्र अगाडि नबढ्नुमा, केही साहित्यिक रचना गर्ने रचनाकारहरुमा त्यति जोश तथा साहित्यप्रति धेरै ध्यान नदिनु, एउटा कलमको टुप्पोले कापीको पानामा मात्र थोरै समय रचना गर्नु र बचेको समयलाई मात्र साहित्य क्षेत्रमा लगानी गर्नुले जाजरकोटको साहित्य क्षेत्र अलि पछाडि परेको जस्तो लाग्छ । र केही साहित्यकारहरुको प्रेरणा, उत्साह दिने खालका कुनै कार्यक्रमहरु नहुनु, विशेष क्षेत्र बाट पहल नगरिनु, नै जाजरकोटको साहित्य क्षेत्र अघि नबढ्नुका मुख्य कारणहरु हुन । जाजरकोटमा साहित्य रचनाहरु गर्नेलाई कतै बाट सम्मान गरिएको छैन ।
साहित्यको कुन विधामा कलम चलाउन सजिलो हुन्छ ?
साहित्यको सबै विषयमा कलम चलाउन त सजिलो छैन । तर पछिल्लो समय बढि आर्कषणको रुपमा मुक्तक गजल देखिएको छ । सबैले रचना गरेर आफनो आधिकारीक सामाजिक सञ्जाल फेसवुक मार्फत पोस्ट गरेको र गजल मुक्तकका कृतिहरु सबै क्षेत्रमा पढ्ने र रचना गर्ने गरेको पाइन्छ । कविता, कथा , उपन्यास लगाउतका विधाहरु कम मात्रामा पढ्ने र रचना पनि थोरै मात्रामा प्रकाशित हुने गरेको पाइन्छ । हाम्रो ग्रामीण क्षेत्रमा उपन्यास, कथा जस्ता विधाहरु झनझटिलो मान्ने । रचनाहरुमा गुणात्मक रुपमा कम भएको पाइन्छ ।
तपाईले साहित्य क्षेत्रमा हात राख्दै गर्दा कसको सहारा पाउनुभयो ?
मेरो पहिलो सहारा भनेको रेडियो मार्फत प्रसारण हुने साहित्यिक कार्यक्रम हुन । रेडियो नेपाल, स्थानीय एफ.एम. रेडियो र साहित्यक पुस्तकहरु हुन । नाम नै लिएर सम्झिनुपर्दा कुशे ८ जाजरकोटका साहित्यकार तथा सरस्वती मावि कुशेका तत्कालित प्रधानध्यापक अमरबहादुर रोकायले नै मलाई साहित्य क्षेत्रमा प्रेरणा दिनुभयो । उहाँ आफैमा एक साहित्यकार भएकोले साहित्यका विविध विधा रचनाको कठिनाई बारेमा उजागर गरेर थप हौसला दिनुहुन्थ्यो ।
दुर्गम गाउँमा बसेर साहित्य रचना गर्नुमा कति कठिनाई छ ?
दुर्गम क्षेत्रमा सामाजिक सञ्जालको पहुँच भन्दा बाहिर, पत्रपत्रिका तथा कुनै पनि सुविधा नहुने भएकोले दुर्गम क्षेत्रमा अन्धकारमा रातमा कालो चस्मा लगाएर यात्रा गर्नु जस्तै हुन्छ । तर कापीका पानामा मात्र आफनो साहित्यिक रचनाहरु कदै गर्नुपर्ने कुनै साहित्य कार्यक्रम भएको जानकारी समेत नहुने विविध खालको समस्याहरु रहेका छन । जस्तै, साहित्यिक श्रष्टाहरु संग सम्पर्क नहुनु, रचनाहरु कतै प्रकाशित गर्ने पत्रपत्रिका, अनलाईन पत्रिकामा राख्न नपाउनुले गर्दा केही साहित्यिक मनहरु पनि चुपचाप बस्नुपरेको छ ।
तपाईलाई सबैभन्दा बढि मनपर्ने साहित्यका कृतिहरु केके हुन ?
मैले सबै भन्दा पहिले पढेको पुस्तक मुनामदन हो । जसले मेरो पुरै ध्यान एकाएक तानिदियो । झ्याउरे लयमा रहेको प्रेम, गरिवी, अशिक्षा, महिला हिंसा, जस्ता विविध पक्षको समस्यालाई एउटा काव्यद्धारा कैद गरिएको पुस्तक मुनामदन सबैभन्दा बढि मनपर्ने पुस्तक हो । मलाई प्राय सबै पुस्तकहरु मन पर्छन । अरु पुस्तकहरुको नाम लिएर भन्न कठिन छ । पढेका जति सबै राम्रो नै लाग्ने गरेका छन । जाजरकोटका साहित्यकार द्धारा रचित प्राय भेटे जति पुस्तकहरु पढ्ने गरेको छु । र अन्य नाम चलेका साहित्यकारका उपन्यास, गजल,कविता, लगायतका पुस्तक मेरो रोजाईमा पर्ने गर्छन ।
साहित्यिक रचना कस्तो वेला बढि गरिन्छ ?
एकान्त कोठा, शान्त मन, र कुनै पीडाको वेला त्यसै गरी कुनै दृश्य, भावनात्मक वेला प्रायः साहित्यिक रचना गरिन्छ । अवस्था अनुुसार, रचनाहरु आत्मा हृदय देखि प्रस्फुटन भएर आउँछन । देशमा भएको घटना, गरिवी,शोषण,दमन र त्यसैगरी विविध
कारणले साहित्यको घटना बन्न पुग्छ ।
तपाईको भावी योजना के छ ?
मेरो साहित्यक भावी योजना भनेको, मुख्यतय उपन्यासको तयारीमा छु । उपन्यास मार्फत जाजरकोटको सौन्दर्यता, भौगोलिक विकटता, र जाजरकोटको सम्रग पीडा , कर्णाली कै पहिचान झल्कने खालको हुनेछ । सो उपन्यासमा प्रेममा आधारित भएतापनि कर्णालीको प्राकृतिक सौन्दर्यतालाई विशेष ध्यानमा राखेर रचना गरिरहेको छु । अगाडि भएका साहित्यक कमजोरीहरु सच्याएर कविताहरु रचना गर्दै त्यसलाई कृतिका रुपमा प्रकाशित गर्ने तयारीमा छु । गजल, मुक्तक सम्भव भए सम्म एक दुई बर्ष भित्रमै पुस्तकका रुपमा प्रकाशित गर्ने योजना रहेको छ । उपन्यास भने यसै बर्षको अन्त्य तथा नयाँ बर्षको अवसरमा प्रकाशित गर्ने तयारीमा रहेको समेत आम पाठक वर्गमा जानकारी गराउँर्दछु ।
अन्तमा के भन्न चाहानुहुन्छ ?
विशेष त साहित्यलाई सबैले माया गरौँ । साहित्य क्षेत्रको भविष्य छैन । र यसमा समय खर्च गुर्नुभन्दा अन्य क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेहरु पनि समाजमा प्रशस्त मात्रामा छन । यसको कमजोरी भनेको साहित्यकार नबुझ्नु नै हो । जाजरकोटमा भर्खरै गठन भएको जाजरकोटी साहित्यक आवाजले थप साहित्यिक उजागर गर्दै लुकेर रहेका साहित्यक मनहरुलाई सबै सामु प्रस्फुटन गराई दिए थप जाजरकोटको साहित्य क्षेत्र उचाईमा पुग्ने छ । मेरो आफनो साहित्यक विचार र साहित्यक योजना बारे केही भन्ने अवसर दिनुभएकोमा हाम्रो पहुँच डकटकम परिवारलाई आत्मा हृदय देखि हार्दिक धन्यवाद दिन चाहान्छु ।
















































। २८ आश्विन २०७७, बुधबार