
जाजरकाेट । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको भर्चुअल बैठकले अध्यक्ष डिल्लीराज रावतले केही दिन अघि अध्यक्ष पदबाट दिएको राजीनाम स्वीकृत गरेको छ ।
बैठकले संगठनका वरिष्ठ उपाध्यक्ष दीपबहादुर घर्तीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत दिने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष घर्तीको अध्यक्षतामा असोज १ गते बसेको भर्चुअल बैठकले अन्य बिभिन्न निर्णयहरु समेत गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ । यस्ताे छ प्रेस–विज्ञप्ति
क्रान्तिकारी पत्रकार संगठन नेपाल
प्रेस–विज्ञप्ति
मिति ः २०७७/०६/०२
जनपक्षीय पत्रकारिताको ऐतिहासिक धरोहर क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको बैठक संगठनका वरिष्ठ उपाध्यक्ष दीपबहादुर घर्तीको अध्यक्षतामा असोज १ गते विहिबार बस्यो । कोरोना भाइरस (कोभिड १९)का कारण सिंगो विश्व प्रभावित भएको विषम परिस्थितिमा भर्चुअल माध्यममा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । यतिबेला कोरोना भाइरस (कोभिड १९)का कारण सिंगो विश्व प्रभावित भएको छ । सैन्य प्रविधि र सूचना प्रविधिको तीब्र विकासमा लागेको विश्व आज अति सुक्ष्म भाइरससँग त्रसित हुनुपरेको यस विषम परिस्थितिमा श्रमले जिउने विश्वभरका श्रमजीवीहरु अझ बढी संकटमा छन् ।आम मानिसका समस्या, अवस्था, चिन्ता र चासोलाई प्राथमिकतामा दिने सिंगो पत्रकारिता जगत पनि नराम्ररी प्रभावित भएको छ । यस कोरोना महामारीसँग लड्दालड्दै नेपालसहित विश्वभरका थुप्रै पत्रकारहरुले ज्यान गुमाएका छन् । साथै महामारीका बेला आम मानिसका बारेमा चासो राख्दै कार्यक्षेत्रमा खट्ने क्रममा हजारौको संख्यामा पत्रकार सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपालमा पनि कोरोनाले एक जना पत्रकारको मृत्यु भएको छ भने करिव १०० को संख्यामा पत्रकारहरु भाइरसबाट संक्रमित हुनुभएको छ । यस्तो विषम परिस्थितिमा बसेको संगठनको केन्द्रीय समितिको बैठकले यस महामारी विगत समाज परिवर्तन गर्ने महा अभियानमा संघर्ष गर्दै गर्दै जीवनको आहुती दिने सम्पूर्ण पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो संगठन संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
यस क्रममा जीवन गुमाउने पत्रकारका परिवारलाई उचित राहत प्रदान गर्न, घाइते एवं संक्रमित पत्रकारहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न, कोरोना महामारीका कारण संकटमा परेका मिडिया र मिडियाकर्मीहरुको अध्ययन गरी विशेष सहयोग प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । हाम्रो संगठनको तेस्रो राष्टिय सम्मेलन २०७५ बैशाख १५, १६ र १७ गते नगरकोटमा भएको थियो । दुई वर्षको कार्यकालका लागि तेस्रो सम्मेलनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष डिल्लीराज रावतले केही दिन अघि अध्यक्ष पदबाट अप्रत्यासित रुपमा दिनुभएको राजिनामा केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको जानकारी गराउँदछौ । उहाँले सामाजिक सञ्चाबाट घोषणा गरेको राजिनामा बारेमा संगठनमा कसैसँग सामान्य सल्लाहसमेत नगरी गैरजिम्मेवारी ढंगले प्रस्तुत भएको ठहर बैठकले गरेको छ ।
साथै बैठकले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिपबहादुर घर्तीलाई दिएको छ । नेपाल पत्रकार महासंघ श्रमजीवी क्रियाशील पत्रकारको साझा र छाता संगठन हो । मिडियाले निर्वाध लेख्न पाउने प्रेस स्वतन्त्रता र आम नागरिकले आफूलाई लागेको कुरा अभिव्यक्त गर्न पाउने, आफ्नो विचार बोल्न र लेख्न पाउने अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने महासंघको प्रमुख दायित्व हो । यस अर्थमा हामीले महासंघमा सदैव सक्रिय सहभागिता जनाउँदै आएका छौ । महासंघलाई हामी आम पत्रकारको वास्तविक अर्थको समावेशी, साझा र श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरुको अभिभावक संस्था बनाउन लाग्दै आएका छौं ।
त्यसैले महासंघको आगामी महाधिवेशनलाई पनि श्रमजीवीका मुद्दामा अझ मजबुत बनाउने गरी सफल बनाउन हाम्रो संगठनले सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ । प्राविधिक अड्कोेहरु थापेर महासंघलाई निश्चित मान्छे तथा संगठनहरुको सिन्डिकेट बनाउने प्रयत्नहरुलाई विफल बनाउँदै महासंघलाई साँचो अर्थमा समावेशी बनाउन र महासंघलाई श्रमजीवीका पक्षमा संघर्ष गर्ने व्यवसायिक संस्थाका रुपमा विकास गर्न हामी सबैले गहिरोगरी सोेच्नुपर्दछ र लाग्नुपर्दछ भन्ने हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुलाई आग्रह गर्दछौ ।
साथै व्यवसायिक पत्रकारिताको विकासका लागि श्रमजीवी पत्रकारहरुको क्षमता विकासका गर्न, पुनर्ताजगी तालिमको आयोजना गर्न, सामाजिक दायित्वका रुपमा अहोरात्र नागरिकका आवाजलाई बोक्ने र राज्यका कमिकमजोरीमाथि निगरानी राखेर सुशासन कायम गर्न लाग्ने मिडियाहरुको संरक्षण एवं जगेर्ना गराउनका लागि लाग्न सरकार र महासंघसँग हामी आग्रह गर्दछौ । कोरोना भाइरस (कोभिड १९)को निहुमा कान्तिपुर, नागरिक, अन्नपूर्ण, कारोबार, माउन्टेन टिभी, एभिन्यूज टिभीलगायत करिव एक दर्जन मिडिया हाउसहरुबाट थुप्रै श्रमजीवी सञ्चारकर्मीहरुलाई कामबाट बेदखल गरिएको छ । हाम्रो संगठनले यस बीचमा कामबाट बेदखल गरिएकाहरुको पुनर्वहाली गराउन लामो संघर्ष गर्यो ।
संगठनले गरेको आन्दोलनका कारण केही श्रमजीवीहरुको पुनर्वहाली पनि भएको छ । विगतमा तिनै श्रमजीवीहरुको पसिनाले घरका तला थप्ने, गाडी फेर्ने र आफ्नो व्यापारलाई विस्तार गर्ने मिडिया सञ्चालकहरुले महामारीको यस्तो विषम परिस्थितिमा अलिकति पनि मानवीयता नदेखाएर श्रमजीवीहरुको चुलो निभाउने जुन कार्य गरेका छन् त्यो निन्दनीय छ । हाम्रो संगठन कामबाट बेदखल गरिएका सम्पूर्ण श्रमजीवीहरुको यथास्थानमा पुनर्वहाली गर्न र रोकिएका सेवासुविधा उपलब्ध गराउन मिडिया सञ्चालकहरुलाई आग्रह गर्दछ ।
साथै मिडिया हाउसहरुको आयव्यय र लगानी पारदर्शी गर्न पनि माग गर्दछौ । हाम्रो संगठन श्रमजीवीहरुको हक, हित, अधिकार तथा पेशागत सुरक्षाको पक्षमा र स्वरोजगार तथा साना मिडियाको संरक्षणका लागि सदैव संघर्षको मैदानमा छ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई आफूमाथि परेका समस्याहरु संगठनलाई बाँडन आग्रह गर्दछौ ।


















































। २ आश्विन २०७७, शुक्रबार