
जाजरकोट – जाजरकोटको काफलचौरमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना अनुसार भेरी नगरपालिकाको काफल्चौरमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुने भएको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , भेरी नगपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीको विशेष सक्रियातमा डिप्लोमा ईन फरेष्ट्री (वन विज्ञान) र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषयमा अध्यापन सञ्चालन हुने भएको छ । शैक्षिक शत्र २०७७ ÷०७८ बाट शिक्षालयमा अध्यापन सञ्चालन हुन लागेको छ ।
जाजरकोट जिल्लाबाट बिभिन्न प्राविधिक कोर्ष पुरा गर्न बाहिर जिल्ला जानुपर्ने बाध्यता अन्त्य भएको नगर प्रमुख घर्तीले बताए । ‘लामो संघर्षपछि जिल्लामा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएका छौंँ’ उनले भने, ‘आर्थिक स्रोतले कमजोर भएका जेहन्दार विद्यार्थीहरु जिल्ला बाहिर गएर अध्ययन गर्न नसक्ने अवस्था अहिलेसम्म पनि कायम छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको तथ्याङ्क हेर्ने हो भने धेरै संख्यामा अध्ययन गर्दै आएको पाईन्छ ।’ विद्यालय स्तरबाट माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीको संख्या निकै न्यून छ ।
आर्थिक अभाव सानै उमेरमा बिवाह, बाहिर जिल्लाको प्राविधिक शिक्षा हासिल गर्नुपर्ने जस्ता कठिनाइले जिल्लामा प्राविधिक तथा उच्च शिक्षा हासिल गर्नेको संख्या कम भएको नगर प्रमुख घर्तीको भनाइ छ । घरआँगनमै प्राविधिक शिक्षा हासिल गर्न पाउँदा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीलाई राहत हुनेसमेत नगर प्रमुख घर्तीको भनाइ छ ।
एउटा राम्रो कोर्ष पुरा गर्नको लागि महंगो शुल्क तिरेर पोखरा, काठमाडौँ जानुपर्ने यहाँका विद्यार्थीहरुको बाध्यता अन्त्य भएको घर्तीले बताए । गाउँमै बहुप्राविधिक शिक्षालय स्थापना हुँदा सबैले प्राविधिक शिक्षा हासिल गर्न सक्ने र त्यस्ले दक्ष जनशक्तिलाई स्वरोजगार बनाई बेरोजगारी अन्त्य गर्नमा पनि टेवा पुग्ने उनको भनाई छ ।
सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजना ल्याएपनि त्यसका लागि आवश्यक पर्ने जग्गा तथा अन्य भौतिक संरचनाको व्यवस्थापन भएको नगर प्रमुखले बताए ।
बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि गरिएको निरन्तर पहलले सार्थकता पाएको नगर प्रमुख घर्तीले जानकारी दिए । २०७७ मंसिर ३० गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले बहुप्राविधिक शिक्षालय संचालन गर्न आवश्यक पर्ने जग्गा स्वीकृती प्रदान गरेको थियो ।
भेरी नगरपालिका ५,काफलचौर मन्त्रीपरिषद्को निर्णय नम्बर ४ (१) को निर्णयमा भेरी नगरपालिका–५ मा रहेको १७३५, १७३७ र १८४९ कित्ता नम्बरको ११,१९०.२९ वर्गमिटर क्षेत्रफल जग्गा स्वीकृती प्रदान भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत घर्तीले बताए ।
















































। २ आश्विन २०७७, शुक्रबार