सल्यान : खाद्य सुरक्षामा सल्यान जिल्ला सुरक्षित रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा सल्यान चामल,गहुँ र मकैमा आत्मनिर्भर बन्दै गएको देखिएको हो। गत आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा ९७ हजार ६ सय ६४ मेट्रिकटन खाद्यान्न उत्पादन भएको थियो।
जिल्लामा अपुग ५४ हजार ७ सय ३८ मेट्रिकटन खाद्यान्न आवश्यक देखिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए। जिल्लामा हाल ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहेको उनको भनाई छ। उनका अनुसार जिल्लाभित्र घरेलु मादक पदार्थ उत्पादनमा ४ हजार ८ सय ८३ मेट्रिकटन र पशु आहारमा २९ हजार २ सय ९९ मेट्रिकटन प्रयोग हुने गरेको छ।
उनले भने, ‘६३ हजार ४ सय ८१ मेट्रिकटन कुल खाद्यान्न आपूर्ति गरिएकोमा ५४ हजार ७ सय ३८ मेट्रिकटन खाद्यान्न खपत भएको छ, ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहन गएको छ।’ जिल्लाभित्र गत आर्थिक वर्षमा १६ हजार १ सय ४ मेट्रिकटन धान, ५१ हजार १ सय ७३ मेट्रिकटन मकै, २९ हजार १३८ मेट्रिकटन गहुँ, ९ सय २१ मेट्रिकटन कोदो र ३ सय २५ मेट्रिकटन जौ उत्पादन भएको छ।
बस्नेतले भने, ‘कुल उत्पादन त बढी नै छ, तर हामीले खाद्यान्न भित्र्याउँदाको क्षति, बीउ, कुटानी-पिसानी गर्दा र प्रशोधन गर्दाको क्षतिलगायत सबैलाई कटाएर खानयोग्य खाद्यान्नलाई मात्र जोडेका छौं।’ जिल्लामा धेरै जमिन अझै बाझो रहेकाले उपयोगमा ल्याउनसक्ने हो भने उत्पादन बढ्ने बस्नेतले बताए। जिल्लामा प्रतिव्यक्ति वार्षिक २ सय १ किलो खाद्यान्न आवश्यक पर्ने उनले जानकारी दिए।
















































। १० भाद्र २०७७, बुधबार