१० बैशाख २०७८, शुक्रबार

अझै घटेनन् हलियाका दुःख

‘मुक्ति कागजमा घोषणा गरियो, सरकारले वास्ता नगर्दा हाम्रो जिन्दगी झन् कष्टपूर्ण बनेको छ’

                                              फाईल तस्विर
सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–९ का जंकु चौधरीसँग आफ्नो जग्गा नहुँदा झन्डै २० वर्ष जमिनदारको घरमा हलिया बसे ।

हलिया प्रथा मुक्त भए पनि अहिले उनी गाउँका अरू जमिनदारका जग्गा जोतेर जीविकोपार्जन गर्छन् । उनका छिमेकी शान्ति चौधरीलाई हलियाबाट मुक्त भएपछि पनि परिवारको खर्च धान्न समस्या भएको छ ।

सरकारले २०६५ मा हलिया प्रथा मुक्त गरे पनि मुक्त हलिया जीविकोपार्जनकै समस्यामा छन् । ‘मुक्ति कागजमा घोषणा गरियो, सरकारले वास्ता नगर्दा हाम्रो जिन्दगी झन् कष्टपूर्ण बनेको छ,’ जंकुले भने, ‘ठूलो परिवार भएकाले जनता आवास कार्यक्रमले बनाएको घरमा बस्न मुस्किल छ, परिवारको खर्च धान्नै धौधौ भयो ।’ सरकारले विकल्प नदिएरै मुक्त घोषणा गर्दा आफूहरूले दुःख पाएको उनको गुनासो छ । जमिनदारले तिमीहरू मुक्त भइसक्यौ भनेपछि आफूहरूलाई काम पाउन मुस्किल भएको शान्तिले बताए ।

‘एक गाँस राम्ररी खान पनि मुस्किल छ,’ उनले भने, ‘हाम्रा दुःख कहिल्यै गएनन् ।’ बाबुबाजेले जमिनदारको घरमा काम गर्ने बेला लिएको ऋण तिर्न पनि हम्मेहम्मे भएको उनले बताए । सरकारले हलियामुक्त गर्दा उनीहरूले लिएको ऋण तिर्न नपर्ने भने पनि जमिनदारले तिर्न बाध्य बनाएको मुक्त हलियाको भनाइ छ । पुर्खाहरूले लिएको ऋण तिर्न नसक्दा हलियाकै काम गर्न बाध्य भएको स्थानीय कमल थारूले बताए । ‘परिवार पाल्न अर्को इलम पनि छैन,’ उनले भने, ‘सरकारले कुनै सहयोग नगर्दा छोराछोरीलाई पढाउनै सकेका छैनौं ।’

पहिले जोतेरै खान पुगेको भए पनि अहिले परिवार पाल्न समस्या भएको जाजरकोटका मुक्त हलिया अमृत विकले बताए । ‘मुक्ति भन्ने शब्दले जमिनदारले पनि आफ्नो मान्न छोडे,’ उनले भने, ‘सरकारले घर निर्माण त गरिदियो, तर छाउगोठजस्ता घरमा कसरी बस्नु ?’ उनका अनुसार जाजरकोटमा ४ सय ४१ जनामध्ये २ सय १ जना हलिया परिचयपत्र लिएका छन् । परिचयपत्रको कुनै उपयोग नभएको उनले बताए ।

मुक्त हलिया समाजका केन्द्रीय महासचिव पर्वत सुनारले कागजमा मात्र हलिया मुक्त भएको बताए । उनका अनुसार कर्णालीमा २ हजार ८ जना हलिया मुक्त भएका छन् र ३ सय ८२ जनासँग ‘क’ वर्गको परिचयपत्र छ ।