सासू–ससुरालाई राम्रो स्याहार गर्ने बुहारीहरू सम्मानित

unn.prixa.net
लमजुङ – लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।

ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले जानकारी दिनुभयो ।

अध्यक्ष कुवँरका सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दरबजार नगरपालिका ८ चुनपहाराकी देवी कुँवर, सुन्दरबजार नगरपालिका ८ घोक्रेश्वाँराकी गङ्गा कार्की , सुन्दरबजार नगरपालिका ८ बलिथुमकी टेकमाया ढकाल र सुन्दरबजार नगरपालिका ९ की दीपा खनाललाई प्रमाणपत्रको साथमा दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

समाजले सम्मान गरेकोमा खुसी मिलेको सम्मानित हुनुभएकी गोमा परियारले बताउनुभयो । ‘मिठो वचन गरी मिठो–नमिठो जे छ त्यो खान दिएमा, राम्रो व्यवहार गरेमा ज्येष्ठ नागरिक खुसी हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सम्मानित भएपछि झनै उहाँहरूको राम्रो स्याहार–सुसार गर्न हौसला मिलेको छ ।’

कार्यक्रममा भोटेओडा क्षेत्रमा ८० देखि ८४ वर्षसम्मका १५ जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाइ लाैरी, टर्चलाइट, फलफूल वितरण गरिएको छ ।

‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ । सन्ततिले वृद्ध बा–आमाको सम्मानपूवर्क स्याहार–सुसार गर्नुपर्छ भन्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक, बा–आमा, सासू–ससुराको सम्मानपूर्वक स्याहार–सुसार, पालनपोषण गर्नेलाई समाजले बर्सेनि सम्मान गर्दै आएको छ’, अध्यक्ष कुवँरले भन्नुभयो ।

कार्यक्रमकै अवसरमा भोटेओडार सिउँडीबारमा रहेकाे यात्रु प्रतीक्षालयमा लामो समयदेखि पिउने पानीको व्यवस्था गर्दै आउनुभएकी स्थानीय समाजसेवी पूर्णीमाया घलेलाई पनि सम्मान गरिएको छ । #उज्यालाे #

तपाईको प्रतिक्रिया