कोरोनाको प्रभाव : रोकियो जिल्ला स्तरीय शिल्ड, जिल्ला प्रवेशमा कडाई

फाईल तस्विर

जाजरकोट, १० वैशाख । पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएकोले विहीबार देखि सञ्चालन हुने भनिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड स्थगित गरिएको छ ।

गत बर्ष पनि कोरोना भाइरसका कारण स्थगित गरिएको जिल्ला स्तरीय रनिङ्ग शिल्ड यस बर्ष कोरोनाको दोस्रो लहर सुरु भएकोले अर्काे सुचना जारी नहुन्जेल सम्म स्थगित गरिएको जिल्ला खेलकुद विकास समिती जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार, जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड व्यवस्थापन समितीको निर्णय अनुसार अर्काे सुचना नआउन्जेल सम्म एक विज्ञप्ती जारी गरी स्थगित गरिएको छ । एक बर्ष पछि जनजीवन समान्य बन्दै गएकोले जाजरकोटमा खेल क्षेत्र जुरमुराईरहेको थियो तर विश्वभरी कोरोनाको दोस्रो लहर सुरु भएका कारण निर्धारित प्रतियोगिता स्थगित गर्नु परेको आचार्यको भनाई छ । दोस्रो लहर समान्य बन्दै गएपछि सुचना जारी गरी खेल सञ्चालन गरिने समेत आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक सुचना जारी गरी २५ जना भन्दा बढिको उपस्थितीका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ । स्वास्थ्यका मापदण्ड पालना गरी कार्यक्रम गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए । यस्तै जाजरकोट जिल्ला प्रवेशमा कडाई गरिएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी सहितको टोली जाजरकोट प्रवेश नाका छेडाबजारमा गई बाहिर बाट आउने नागरिकलाई कडाई गर्न निर्देशन दिएको छ । छेडा बजारमा सञ्चालनमा रहेको हेल्प डेस्कलाई सुचारु गरी सेवा प्रवाह गर्न समेत निर्देशन दिईएको प्रजिअ देवकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया