वनैपिच्छे डढेलो, केही बस्ती नै खरानी

जाजरकोट, ६ वैशाख । जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डढेलोले क्षति पु¥याएको छ । पछिल्लो समय जिल्लाका वनैपिच्छे डढेलो लागेको छ । राति सबैजसो वनमा डढेलो देखिने गरेको छ । सात वटै स्थानीय तहका विभिन्न वन क्षेत्रमा डढेलो दन्किरहेको छ । जिल्ला सदरमुकाम सहित छेउछाउका जंगलमा समेत आगलागी भइरहेको छ ।

आगलागीबाट बोटबिरुवा, जडिबुटी र वन्यजन्तु मासिएका छन् । खोटो र झोरो निकालेका सल्लाको वनमा आगो लाग्दा काँचा रूख समेत जलेका छन् । वनमा लागेको आगोले बस्तीसम्म क्षति पु¥याएको छ । नलगाड नगरपालिकाको सामुदायिक वनमा लागेको आगो बस्तीमा पुगेको छ । वनमा लागेको आगो बस्तीमा पस्दा पाँच वटा घर ध्वस्त पारेको छ ।

डिभिजन वन कार्यालय जाजरकोटका अनुसार हालसम्म ३८ सामुदायिक वन र तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । अधिकांश सामुदायिक र राष्ट्रिय वन डढेलोले सखाप पारेको छ । निमित्त डिभिजन प्रमुख चित्रण शर्माका अनुसार डढेलोको कारण वन क्षेत्र यतिवेला उजाड भएको छ । प्रारम्भिक विवरण अनुसार १ हजार करिब २ सय बढी हेक्टर वन क्षेत्रमा आगलागी भएको अनुमान गरिएको शर्माले बताए ।

जाजरकोटमा २ सय ९० वटा सामुदायिक वन रहेका छन् । आगलागीका कारण छेडागाड नगरपालिकामा १२ वटा, शिवालय गाउँपालिकामा ९ वटा, जुनीचाँदे गाउँपालिकामा ५ वटा, कुशे गाउँपालिकामा १ वटा, भेरी नगरपालिकामा ३, बारेकोट गाउँपालिकामा ३ वटा र नलगाड नगरपालिकामा ५ वटा सामुदायिक वन तथा तीन वटा राष्ट्रिय वनमा आगलागी भएको छ । लामो खडेरीसँगै सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

दैनिक दर्जन ठाउँमा डढेलो लागिरहेको छ । वनमा जथाभाबी डढेलो नलगाउन आग्रह गर्दा पनि रोक्न नसकेको शर्माको भनाई छ । स्थानीयले राम्रो घाँस पलाउने भन्दै वनमा डढेलो लगाउने गरेको नलगाड १० का वडा अध्यक्ष भद्र बहादुर ध्यारले बताए । वनमा लागेको आगलागीका कारण चार दिन अघि नलगाड ८ को मंसिरी गाउँका ५ घर र ९ वटा गोठ जलेका छन् । जलवायु परिवर्तन र लामो समय खडेरी सुक्खा भई धेरै आगलागी हुने गरेको वन कार्यालयले जनाएको छ ।

भेरी नगरपालिका २ रिसांगमा लागेको सामुदायिक वनमा लागेको आगो निभाउन स्थानीय रातभरी नसुतेर आगो निभाए । डिंगाको वनमा लागेको आगोले स्थानीय गगन थापाको घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट पारेको छ ।

जिल्लाका अधिकांश वनमा स्थानीय नागरिकले जानीजानी डढेलो लगाउने गरेको डिभिजन वन कार्यालयका जाजरकोटले जनाएको छ । स्थानीयले बर्खामा घाँस राम्रो हुने भन्दै यो सिजनमा आगो लगाउने गरेका छन् । सल्लाको वनमा कृषकले नै आगो लगाउँछन् ।

कतिपय ठाउँमा जंगली जनावरहरु दुम्सी, बँदेल लगायतका वन्यजन्तु बारीमा आएर अन्नबाली क्षति गर्न थालेको भन्दै आगलागी गरेको समेत गरको पाईएको छ । उपभोक्ता र सर्वसाधारणलाई आगलागी न्यूनिकरण र वन जोगाउन बेला बेला सचेत गराउँदै आएको भएपनि केही ठाउँमा गलत मान्यता र लाप्रबाहीका कारण आगलागी नरोकिएको वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया