कविताः– “मेरो जाजरकोट”


छन्दः शार्दुलविक्रीडित
बास्ना छर्छ गुराँस फूल बनमा, देख्दै छु आँखै भरी ।
सोचेरै इतिहास बोल्छ जन हो, लेख्दै छु आत्मै भरी ।।
मेरै जाजरकोट सत्य जहिलै, देखिन्छ लौ सुन्दर ।
तारा जून र सुर्य बुद्ध सरिलौ, यो हैन को भन्छर ।।

गुञ्जेका स्वर न्याउली बनबनै, नाँच्दैछ डाँफे पनी ।
जन्ते सँग कुशे मुसे हिमशिरै, हाँस्दैछ स्वर्गै बनी ।।
हाब्रे भ्याकुर ताल माछ झरणा, सँगीत भर्दै जहाँ ।
कस्तूरी अझ मृग छन् जटिबुटी, खानी छ ठूलो त्यहाँ ।।

बग्दै त्यो नलगाड सुन्दर नदी, भेरी र छेरा बनी ।
आशा लाग्छ कठै ल सत्य जनको, मेटिन्छ तिर्खा भनी ।।
आस्थाको दरबार त्यो झिलिमिली, देखिन्छ लौ सुन्दर ।
जो छन् मन्दिर शान्त मौलिकपना, यो हैन को भन्छर ।।

सोच्दै मन्दिर त्यो शिवालय जहाँ, आस्था सबैले गरी ।
चाखूरे डुलि लौ पिएर जल त्यो, हावा समाले सरी ।।
द्यौता प्यार बसेर जो गरिरने, लौ बार कोटी जहाँ ।
आफ्नो साँस्कृति वीरता बिगतका, जन्मिन्छ कोही त्यहाँ ।।

मष्टा बार पबित्र भाइ जनहो, झादेउकी छन् जहाँ ।
हाँस्दै भैरव नाथ औ हिमचुली, नाँची रहेका त्यहाँ ।।
बस्दै साथ अनेक जात थरका, साझा छ हाम्रो घर ।
लाखौ फूल फुली सुबास छरिने, जिल्ला छ लौ सुन्दर ।।

मालीका छ गुफा सुकर्म दिलका, सम्मानका खाँतिर ।
पूर्खा वायु नि घट्ट जो जगतुका, चल्दैछ यस्तो तर ।।
मैनाले अनि कोइली गरिबका, बोल्दैछ तीतो जब ।
छाती पोल्छ सधै सधै बिरहले, सम्झेर मेरो तब ।।

जोडौ हात र काँध सत्य अबलौ, उर्लेर सारै अनि ।
कस्तो स्वर्ग रहेछ आउभगवान्, मेरो छ जिल्ला भनी ।।
सारा देश विकास गर्नु दल हो, आशा छ तिम्रो तर ।
मेरै जाजरकोट सत्य जहिलै, देखिन्छ लौ सुन्दर ।

डिल्ली थापा “चिन्तन“
बारेकोट–२ जाजरकोट (हाल दाङ)

तपाईको प्रतिक्रिया