१४ चैत्र २०७७, शनिबार

जुम्लामा सुरु भयो यस वर्षको मार्सीधान खेती

जुम्ला : जुम्लाका किसानले मार्सी धानको खेती सुरु गरेका छन्। जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय मार्सी धानको खेती जुम्लावासीले यस वर्ष चैत १२ गते बाट सुरु गरेका हुन्।

नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालीमार्सी धानको खेती प्रत्येक वर्ष चैत मध्यबाट सुरु हुने गर्छ।

धानको बीउ पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको सुरुवातीका रुपमा लिने गरिन्छ। तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेका अनुसार यहाँ महिलाले मागल पुकारेसँगै सबैले चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ।

विश्वकै उच्च स्थानमा उत्पादन हुने एक मात्र कालीमार्सी धान जिल्लाको पातारासी गाउँपालिकास्थित छुम चौरज्युलोमा पनि खेती हुने गर्छ।

हरेक वर्ष यही बेला बीउ बोरामा राखेर पानीमा भिजाइन्छ र १६ गते बाहिर निकालिन्छ र २० गते छरिन्छ। मार्सी धानको बिउ छरेको दिन तथा चैत २० गते जुम्लामा बिसु पर्व पनि मनाउने गरिन्छ।

यहाँको परम्परागत चलनअनुसार ‘बारुवा’ पनि भनिने चन्दननाथ गरपालिका–१० का स्थानीयवासी विष्णु भण्डारीले बताए। मार्सी धान विभिन्न रोगका औषधिका रूपमा पनि प्रयोग गरिन्छ। यसको रातो भातको खीर निकै स्वादिलो मानिन्छ।

घरका सबै दिदिबहिनी एक आपसमा चिउरा कुट्ने चलन भए पनि यो विस्तारै लोप हुँदै गएको स्थानीय तिलावासी माने रावतले बताए।

जिल्लामा दुई हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए। उनले भने , जिल्लाका आठ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ। सो धान पाक्न सात महिना लाग्छ। चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ।’

जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन। नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ।

असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ। नेपालमा असार १५ गते धान दिवस मनाउने गरिए पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ।