बारेकोटमा नमस्ते मोबाइल सेवा : कतै खुशी, कतै बेखुशी

फाेन गर्न घण्टाै हिड्नुपर्ने पुरानै बाध्यता मुल्सामबासीलाई


कालीबहादुर नेपाली
जाजरकोट, १३ चैत्र । जिल्लाको बारेकोट गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा सुरु भएको छ । विहीबार देखि गाउँपालिकामा नमस्ते मोबाइल सेवा सुरु भएको हो । बर्षाैं देखिको बारेकोट बासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयबासी निकै खुशी भएका छन् । गाउँपालिका भन्दा बाहिर रहेका आफन्तहरुलाई फोन गर्नका लागि अग्लो डाँडा धाउनुपर्ने, रुख चढ्नुपर्ने लगायतका समस्याले स्थानीय हैरान भएका थिए ।

एक महिना पहिले निर्माण भएको टावरमा कहिले देखि सेवा सुरु हुन्छ भन्ने प्रखाईमा स्थानीय रहेका थिए । विहीबार देखि सेवा सुचारु भएपछि सामाजिक सञ्जाल फेसवुकमा सेवा सुरु भएको सुचना दिने मानिसहरुको कमी थिएन् । उनीहरु सबै बारेकोटबासी हुन् । बारेकोट गाउँपालिका २ रोकायगाउँकी चन्दाकला नेपालीले आफु साह्रै खुशी भएको बताईन् ।

उनले भनिन्, ‘मैले दिउँसो एक बजेतिर छोरालाई फोन गरे, पहिलेको जस्तो आवाज नसुनिने असुविधा थिएन्, मन खोलेर कुरा भयो ।’ यसरी फोन गर्न पाईएला भन्ने मैले सोचेको थिईन्, अव आफन्त संग मज्जाले कुरा हुने भयो ।’ उनी मात्र होइनन् बारेकोट गाउँपालिका भित्रका स्थानीयहरु नमस्ते सेवा सुचारुपछि निकै खुशी भएका छन् । स्काई सेवा बाट खुलेर आफन्त संग कुरा गर्न नपाएका स्थानीय नमस्ते सेवापछि निकै खुशी भएको नेकपा माओवादी केन्द्रका नेता तिलक रावतले जानकारी दिए ।

यता बारेकोट गाउँपालिका ३ मुल्सामका स्थानीयहरुले नमस्ते मोबाइल सेवाले काम नगरेको बताएका छन् । मुल्सामका दिलबहादुर महरले भने, ‘पहिले पनि स्काई फोनले काम नगर्दा हामी सञ्चारको सेवा बाट बञ्चित भएका थियौँ, अहिले पनि नमस्ते मोबाइल सेवाले काम गरेको छैन ।’ हामीलाई राज्यले किन उपेक्षा गरेको होला हामीले कहिले सञ्चारको सेवा पाउने भन्दै दुःख व्यक्त गरे । नमस्तेको फोरजी सेवा उपलब्ध हुने भएपनि दुई जीले काम गरेको गरिरहेको छ ।

टावरको काम पटक , पटक हुँदै तर बीचमै छोडेर जाने प्रवृतीका कारण समस्या हुँदै आएकोमा पुर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको निरन्तर दवावपछि जाजरकोटको फ्रेज कर्णालीबाट अलग गरेर टावर बनाउने काम गरिएको थियो । १० जिल्लाको काम एकै पटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका कामहरु ढिला हुने भएकाले जाजरकोटको फ्रेजलाई अलग गरेर काम सुरु गरिएको थियो ।

जाजरकोटको काम अलग गरेसँगै शिवालयमा गत चैत्र ५ गते देखि टेलिफोन सेवा सुरु भएको छ । त्यस्तै नलगाड नगरपालिका ८ गराइलामा निर्माण कार्य जारी रहेको टावर महिना दिन भित्र सञ्चालनमा आउने बताएको छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सभ्रेको काम सम्पन्न भएको छ । केही महिना अघि जुनिचाँदे गाउँपालिकामा नमस्तेको फोन सेवा सुरु भइसकेको छ । यि सवै टावर सञ्चालनमा आएमा जिल्ला भरी सञ्चार सम्पर्क गर्न सहजता आउने अपेक्षा गरिएको छ । कुशे गाउँपालिकामा पनि टावर निर्माणको क्रम चलिरहेको समेत बताइएको छ ।

तीन गाँउपालिकामा सञ्चार सुविधा विस्तार
जिल्लाका तीन ओटा दुर्गम गाँउपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोर जी सहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाँउपालिका, जुनीचाँदे गाँउपालिका र बारेकोट गाँउपालिकामा सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट बञ्चित रहेका तीन गाँउपालिकामा टेलिकमले टावर निर्माण गरि सेवा प्रारम्भ गरेपछि स्थानियले सहज रुपमा सञ्चार सुविधा पाएका हुन् ।

जिल्लामा निर्माणाधिन सात वटा नमस्तेको टावर मध्य जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिन अघि तथा बारेकोट गाँउपालिकामा विहिवार देखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माण सँगै बारेकोट गाँउपालिकाका सवै वडाहरु, जुनीचाँदेका सवै वडाहरु शिवालय गाउँपालिकाका सवै वडाहरु र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयले सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । यस अघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नु परेको थियो । एक कल फोन गर्न घण्टौ टाढा जानु पर्ने बाध्यता हटेको बारेकोट १ रामीडाँडका पृथिराज ज्योतिले बताए ।

बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले टेलिफोनको टावर जडान गरि गाँउपालिकामा सहज सञ्चार सुविधा बनाउन पहल गर्ने सवैलाई धन्यवाद दिएका छन् । टुजी संचालनमा आएको बारेकोटमा छिटै फोरजी संचालनमा ल्याउन तयारी भैरहेको उनको भनाई छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवा समेत संचालनमा आइसकेको छ ।

स्थानिय बासिन्दा, गाँउपालिका, स्थानिय प्रशासन र राजनैतिक दलहरु तथा नेताहरुको निरन्तर दवाव पछि १० जिल्लाको काम एकै पटक गर्दा जाजरकोटमा निर्माण हुँने टावरका कामहरु ढिला हुँने भएकाले जाजरकोटको फ्रेजलाई अलग गरेर काम सुरु गरिएको थियो । नलगाड नगरपालिका ८ गराइलामा टावर निर्माण कार्य जारी रहेको छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सभ्रेको काम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया