कर्णालीमा हेलिएका चार जनाको दाहसंस्कार, कान्छी छोरी अझै भेटिइनन्


दैलेख : कर्णालीमा हेलिएका एकै परिवारका पाँच जनामध्ये चार जनाको दाहसंस्कार गरिएको छ भने एक जना अझै बेपत्ता छन्।

आठबिस नगरपालिका–३ निमाल बस्ने मानसिंह बडुवालकी श्रीमती सुखी, उनका ३ छोरी र एक छोरा गरी पाँच जनाले फागुन २३ गते आइतबार राति कर्णालीमा हाम फालेका प्रहरीले बताएको थियो।

स्थानीयका अनुसार श्रीमान मानसिंहले दिनहुँ मदिरा सेवन गर्ने र परिवारमा झैझगडा गर्ने गरेका कारण बिरक्तिएर सुखीले चार जना सन्तानसहित कर्णालीमा हाम फालेका हुन्।

दाहसंस्कार गरिएकामध्ये मानसिंहकी छोरी १२ वर्षीया सरिता, १४ वर्षीया छोरी कल्पना, उनकी श्रीमती ३५ वर्षीया सुखी र १० वर्षीया छोरा ललित छन्। दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म कान्छी छोरी ७ वर्षीया रजनी अझै बेपत्ता छिन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया