कर्मचारी बर्खास्तको चौतर्फी विरोध

जाजरकोट, २१ फागुन । नियम विपरीत आफना कर्मचारीहरु राजनैतिक दल निकट पत्रकारको संगठनमा लागेको भन्दैे भेरी नगरपालिकाले उनीहरुलाई निष्कासन गरेपछि कर्मचारीका विभिन्न पेशागत संगठन, दलका नेता कार्यकर्ता र पत्रकारहरुले विरोध जनाएका छन् ।

भेरी नगरपालिकामा करार सेवामा कार्यरत पवन शर्मा, सरोज वली र भरत शर्मा नेकपाको दाहाल नेपाल समुह निकट पे्रस संगठन नेपालमा आवद्ध भएर कर्मचारी आचार संहिता विपरीत काम गरेको भन्दै सुरुमा २४ घन्टै स्पष्टीकरण सोधेर पछि सेवावाट वर्खास्त गरेको जनाइएको छ । कर्मचारीका विभिन्न पेशागत तथा छाता संगठनहरुले संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय सरकारले वेरोजगारीका लागि रोजगार सृजना गर्नुपर्ने ठाउँमा रोजगार खोसेर वेरोजगार वनाउने काम गरेको आरोप लगाएका छन् ।

उनीहरुले विज्ञप्तीमा राजनैतिक आस्था र विचार फरक राखेको वहानामा कर्मचारीलाई जागिरवाट निकाल्ने कार्य निन्दनीय रहेको र यसलाई तत्काल सच्याउनुपर्ने वताएका छन् । नगरपालिकाको कर्मचारी वर्खास्त गर्ने निर्णयको विरोधमा संयुक्त विज्ञप्ती निकाल्दै निजामति कर्मचारीहरुको आधिकारीक टेड युनियन जाजरकोटका अध्इक्ष वीरवहादुर चन्द, नेपाल निजामति कर्मचारी युनियन संघ जाजरकोटका उपाध्यक्ष कृष्णवहादुर खत्री, नेपाल निजामति कर्मचारी संगठन जाजरकोटका सचिव रामसिंह ठकुरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका कार्यवाहक अध्यक्ष दलवीर पुनले नगरपालिकाले दुरासयपुर्ण मनसायले स्पष्टीकरण सोध्ने र प्रतिशोधपुर्ण पुर्वाग्रह राखेर ती कर्मचारीहरुलाई वर्खास्त गरेको आरोप लगाएका छन् ।

उनीहरुले नगरपालिकालाई कर्मचारी वर्खास्त गर्ने निर्णय फिर्ता लिन र आगामी दिनमा यस प्रकारका निर्णयहरु नगर्न समेत चेतावनी दिएका छन् । यस्तै, भेरी नगरपालिकाले फरक आस्थाको प्रेस संगठनमा आवद्ध भएकै कारण जागरिवाट निष्कासन गरेको घटना निन्दनीय रहेको पत्रकारका नेता र प्रेस संगठन नेपालले जनाएको छ ।

नेकपाको दाहाल नेपाल निकट प्रेस संगठन नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसी र सचिव रेशमवहादुर खड्काद्धारा जारी विज्ञप्तीमा फरक आस्थाका पत्रकारहरुमाथि भेरी नगरपालिकाले देखाएको विभेद र अन्यायपुर्ण व्यवहार स्वभाविक नभएको जनाइएको छ । यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष दीपवहादुर घर्तीले पनि पत्रकार पवन शर्मा, सरोज वली र भरतलाई जागिरवाट हटाउने निर्णय न्यायपुर्ण नभएको वताए ।

यस्तै नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद वासुदेव शर्माले पनि नगरपालिकाले कर्मचारी हटाउन गरेको निर्णय गलत भएको वताए । उनले फरक आस्था र प्रेसमा आवद्ध हुने वित्तिकै जागिर खोसी माग्नुपर्ने अवस्था आउनु दुखद कुरा भएको वताए ।

राजनैतिक आस्था फरक भएकै आधारमा स्थानीय सरकारले गलत नियत राखेर गरिएको निर्णय सच्चिनु पर्ने भन्दै विज्ञप्तीमा निजहरुको कारवाही फुकुवा गर्न माग गरिएको छ । यस्तै नेकपाको दाहाल नेपाल निकट युवा दस्ता राष्टिय युवा संघ नेपालले पनि नगरपालिकाले कर्मचारी वर्खास्त गर्न गरेको निर्णयको विरोध जनाएको छ । संयोजक डिएन शाही र इन्चार्ज मनोज विक मोहितले जारी गरेको विज्ञप्तीमा रोजीरोटीका लागि काम गरिरहेका कर्मचारीहरुलाई सेवावाट निकाल्ने काम गर्नु निन्दनीय भएको जनाइएको छ ।

यस्तै क्रान्तिकारी पत्रकार संगठन जाजरकोटले पनि आपत्ती जनाएको छ । विहीबार अध्यक्ष तिर्थराज बोहराद्धारा जारी विज्ञप्तीमा आपत्ती जनाएको छ । नगरपालिकाले उक्त निर्णय फिर्ता नलिए आफुहरु संघर्षमा उत्रिने पनि विज्ञप्तीमा जनाइएको छ ।

यसै गरि नगरपालिकाको कर्मचारी वर्खास्त गर्ने निर्णयको नेकपाको दाहाल नेपाल समुहका नेता कार्यकर्ताहरुले चर्काे आलोचना र विरोध गरेका छन् । उक्त समुहका केन्द्रिय नेता देखि जिल्ला स्तरका नेता कार्यकर्ताहरुले भेरी नगरपालिकाको कर्मचारी हटाउने निर्णय अस्वभाविक र निन्दनीय भएको प्रतिक्रिया सामाजिक सन्जालमा पोखेका छन् ।

आफुहरुमाथि नगरपालिकाको नेतृत्वले अन्यायपुर्ण र तानाशाही व्यवहार देखाएको गुनासो गरेका छन् । नगरपालिकामा रहेर इमान्दारीतापुर्वक काम गर्दा गर्दै पनि पुर्वाग्रह राखेर आफुहरुमाथि अन्याय गरेको वर्खास्तमा परेका कर्मचारी पवन शर्माले वताए ।

वर्खास्तीमा परेका तीन जना कर्मचारीहरु नेकपाको दाहाल नेपाल निकट प्रेस संगठन नेपालको कर्णाली प्रदेश समितिमा मनोनयनमा परेको र सो कार्य प्रत्यक्ष राजनीतिमा भाग लिएको ठहरिने भन्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले फागुन १७ गते आफु र नगरप्रमुखलाई २४ घन्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न पत्र काटेका थिए । फागुन १८ गते उनीहरु वर्खास्त भएको वताइएको छ ।

यस वारेमा वुझ्न निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती र नगर प्रमुख चन्द्रप्रकाश घर्तीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । नगर प्रमुख घर्ती नेकपा वली समुहका केन्द्रिय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया