१५ फाल्गुन २०७७, शनिबार
ताजा खबर
  

सिलाई कटाईमा युवा आर्कषित

जाजरकोट, १५ फागुन ।
पछिल्लो समय जाजरकोटका यूवाहरु सिलाई कटाइ व्यवसाय मा आर्कषित हुन थालेका छन् । देशमा रोजगारी छैन भन्दै विदेशतिर भौतारिने यूवाका लागि यहाँका यूवाहरु गतिलो उदाहरण बन्दै गएका छन् ।

पहिले बाउबाजेले गर्दै आएको बालिघरे प्रथा छोडेर उनीहरु व्यवसाय तर्फ आर्कषित भएका हुन । भेरी नगरपालिका वडा नं. १ का खीमराज परियारले पहिले गाउँमा बाउवाजेले गर्दै आएको व्यवसाय २ बर्ष सम्म गरे त्यसपछि गाउँमा गरेको व्यवसायले राम्रो कमाई नहुने भएपछि परियारले भेरी नगरपालिका ३ ठाँटी बजारमा एउटा सानो पसल खोले ।

पसल बाट राम्रो कमाई हुने भएपछि अहिले उनको जीवनमा सुखका रंग पोतिन थालेका छन् । उनले भने, ‘मैले गाउँमा नै यो व्यवसाय गरेको भए अहिले सफलतामा पुग्ने नै थिइन ।’ उनको पसलमा अहिले ३ जना यूवाले काम गर्दै आएका छन् ।

‘सिलाई कटाई व्यवसायमा लागेपछि मैले धेरै यूवालाई स्वरोजगार अर्थात आफ्नो खुट्टामा उभ्याउन सफल भएको छु ।’ छिट्टै सिकेर काम गर्नै भएकोले युवाहरुको आर्कषण बढेको उनले बताए । कुशे गाउँपालिका प्रेम परियार जाजरकोट सदरमुकाम आएर सिलाई कटाई व्यवसाय गर्न लागेको दश बर्ष भन्दा बढी भई सक्यो ।

उनी भन्छन्, ‘अहिले सम्म मेरो पसलमा पनि धेरै जनालाई तालिमको व्यवस्था गर्नै गरेको छु, तालिम लिन यूवाहरुको लाम नै छ अहिले ५ जना सिकारुलाई पसल बाट तालिम दिने गरेको छु ।’ ‘अहिले सिलाई कटाईमा यूवाहरु आर्कषित भएका छन’ उनले थपे । जिल्लामा कामदारहरुको हकहितका लागि सिलाई कटाई व्यवसाय महासंघ पनि स्थापना भईसकेको छ ।

महासंघको तथ्यांक अनुसार जाजरकोटमा यूवाहरुको आर्कषण बढ्दै गएको देखिन्छ । महासंघका अध्यक्ष मिलन परियारका अनुसार, पहिले दलित समुदायका नागरिकले मात्र गर्नै यो व्यवसाय आजभोली जाजरकोटमा अन्य समुदायका नागरिकहरुले पनि गर्ने गरेको उनले बताए ।

सानो लगानी बाट अर्थात छोटो समयमा नै स्वरोजगार बन्ने भएपछि यूवाहरुको आर्कषण बढेको उनको भनाई छ । गाउँ देखि सहर सम्मका यूवाहरु सिलाई कटाई व्यवसायमा रमाएको पाईन्छ । पहिले बालिघरे प्रथाले झेलिएका स्थानीय अहिले व्यवसायले जीवनरुपान्तरण गर्न सिकेका छन् । सरकारले पटक पटक लक्षित वर्गका लागि छुट्याएको बजेटले यहाँका यूवाहरुको जीवनमा परिवर्तन आएको महिला उद्यमी शिला नेपालीको भनाई छ ।

उनले भनिन्, ‘पछिल्लो समय जाजरकोटका यूवाहरुले गरेको काम एकदम राम्रो छ, तर केही समय देखि यूवाहरु कुलतमा फसेका कारण यो दुःखद खबर हो ।’ यूवाहरुलाई यस्ता काममा लगाउन आवश्यक देखिएको दलित अधिकारकर्मीको भनाई छ ।