‍न्याय माग्दै सडकमा महिला (भिडियो सहित)


जाजरकोट, १० फागुन । जिल्लाका सात वटा स्थानीय तहका महिलाहरु न्याय माग्दै सडकमा आएका छन् । उनीहरु महिलामाथी हुने जघन्य अपराधका दोषीहरुलाई कारबाही गर्नुपर्ने माग सहित सडकमा आएका हुन् ।

पछिल्लो समय देशमा बलात्कार जस्ता अपराधिक क्रियाकलाप माथी संग्लन भएका व्यक्तिहरुलाई कारबाही नगरी ढाकछोप गर्ने गरेकोले दोषी माथी कारबाहीको माग सहित सडकमा आएको अखिल नेपाल महिला संघ जाजरकोटको संयोजक कृष्णा शाहले बताईन् ।

उनले भनिन्, ‘वर्तमान सरकारले देशमा बढेको अपराधिक क्रियाकलापमा ध्यान नदिई, महिला हिंसाका घटनाहरु बढिरहेका छन्, यस्ता क्रियाकलाप गर्ने जोसुकैलाई कारबाही गरी मृत्युदण्डको व्यवस्था गर्न आवश्यक छ ।’ सात वटै स्थानीय तहका महिलाहरुले देशभर महिलाहरुमाथि भैरहेका श्रृङ्खलाबद्ध हत्या, हिंसा र बलत्कारका विरुद्ध आफुहरु दुधेवालक बोकेर सडकमा आएको बताउँछन् ।

प्रचण्ड–माधव समुहको नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) संघर्ष समिति जाजरकोटद्धारा आयोजित विरोध प्रदर्शन कार्यक्रमका बक्ताहरुले महिलाहरु दिनदाहाडै बलात्कृत हुँदा पनि सरकार रमिते भैरहेको भन्दै आक्रोश पोखेका छन् । महिला हत्या, हिंसा र बलत्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् सरकार के हेरेर बसेको छ ।

निर्मला पन्तका हत्याराहरु अहिले सम्म किन प्रक्राउ गर्न सकेका छैनन् । निर्मला र भगिरथी जस्तै सयांै किशोरीहरु कहिले सम्म बलात्कृत भै मृत्युवरण गरिरहनु पर्ने हो ? अनेमसंघ जिल्ला संघर्ष समितिका संयोजक तथा कर्णाली प्रदेश सभा सदस्य कृष्ण शाहले सरकार सँग प्रतिप्रश्न गदै भनिन ‘महिलाहरुको न्यायको लागि हामी अहिले सडकमा आएका छौ । फेरी यस्ता घटना दोहोरिन नदिन सरकारले हत्याराहरुलाई हदै सम्मको कारवाही गरोस ।’ उनले प्रतिनिधी सभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिदै प्रतिगमनको बाटो रोजेको आरोप लगाईन ।

सरकारले बर्तमान समयमा महिलाहरुमाथी हुने घटनाहरुमा कुनै चारो नदिएको महिला नेतृ धर्मशिला बस्नेतले बताईन् । उनले भनिन्, ‘वर्तमान सरकारले महिला हिंसाका विषयमा कुनै पनि चासो देखाएको छैन, अझ रमिता देखाएर बसेको छ, त्यसैको विरुद्धमा महिलाहरु सडकमा आउन बाध्य भए ।’ सरकारले संसद विघटन गरेपछि झनै महिलामाथी समस्या परेको महिलाहरुको भनाई छ । बलात्कारीहरुलाई फाँसीको व्यवस्था गर्ने कानुनको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कानुनी र राजनैतिक दुवै हिसाबले सच्चिनु पर्ने नेकपा प्रचण्ड–नेपाल समुह जाजरकोट अध्यक्ष ढकवीर रानाले भनाई राखेका थिए । प्रतिनीधि सभाको पुर्नस्थापना गर्न पार्टीले सडक संघर्षका कार्यक्रमलाई अगाडी बढाएको जानकारी दिदै अध्यक्ष रानाले संघर्षका कार्यक्रमलाई एकपछि अर्को उचाईमा उठाएर पार्टीले संचालन गरिरहेको बताए ।

अनेम संघ संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शन तथा विरोध सभामा पार्टीका जिल्ला सचिबालय सदस्य कमानबहादुर खड्का, अनेम संघ, जाजरकोटकी नेतृ धर्मशिला बस्नेत, ओमा शाही लगाएतका नेताहरुले बोलेका थिए ।

तल्लो थाप्लेबाट सुरु गरिएको विरोध प्रदर्शन ठाँटी, गैरीखाली, पिपलडाँडा हुदै ठाँटी बजारमा आएर विरोध सभामा परिणत भएको थियो । विरोध सभा कार्यक्रमको संचालन राममाया शाही हमालले गरेकी थिईन् ।

भिडियाे हेर्नुहाेस

तपाईको प्रतिक्रिया