
जाजरकोट, ३ फागुन । जिल्लाका सात वटै स्थानीय तह निमित्तको भरमा सञ्चालन भईरहेका छन् । जनप्रतिनिधीहरुले आफु अनुकुलका प्रमुखहरु बनाउँदा निमित्तको भर पर्नुपरेको हो । नलगाड नगरपालिकाको कार्यालय स्थापना देखि नै शाखा अधिकृत सुरेन्द्र सिंह निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सदरमुकाम स्थित भेरी नगरपालिकाको कार्यालयमा अधिकृत दलबहादुर घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यी दुई मात्रै होइन जिल्लाका सातवटै स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् ।
तोकेको दरबन्दीका उपसचिव र अधिकृतले स्थानीय तहमा नआएपछि तल्लो तहका कर्मचारीको जिम्मामा सञ्चालन भइरहेका हुन् । भेरी, नलगाड र छेडागाड नगरपालिकामा प्रशासन तर्फको उपसचिव तहको दरबन्दी छ । छेडागाडमा निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक खत्री छन् । बारेकोट गाउँपालिकाले पनि दुई वर्ष देखि गोविन्दबहादुर सिंहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । सिंह पशु प्राविधिक समूहको छैटौं तहका कर्मचारी हुन् ।
शिवालय गाउँपालिकामा खिम पाण्डे, कुशेमा मानबहादुर गिरी र जुनीचाँदेमा दीपक शाही निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । गिरी र शाही विद्यालय निरीक्षक हुन् । भेरीमा उपसचिवस्तरको कर्मचारी आए पनि ४ र ५ महिनाभन्दा बढी टिकेनन् ।
स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूल काम गर्ने कर्मचारीलाई कार्यालय प्रमुख बनाउँदा स्थानीय तह निमित्तकै भरमा सञ्चालन भएको नागरिक अगुवा केशवजंग शाहले बताए । ‘राजनीतिक नाता सम्बन्धका आधारमा कर्मचारीलाई रबर स्ट्याम्प बनाइँदा यस्तो भएको हो । प्रमुखको जिम्मेवारी दिन योग्यता नपुग्ने कर्मचारीलाई पनि निमित्त बनाइएको छ,’ उनले भने, ‘दरबन्दीका कर्मचारी आए पनि एकरदुई महिनामै सरुवा हुन्छन् ।’
भेरी नगरपालिकामा नीति, नियमअनुसार काम गर्न खोज्दा अवरोध भएपछि चार महिनामै सरुवा हुनुपरेको उपसचिव ध्रुर्व कोइरालाले बताए । ‘स्थानीय तहमा नीति नियमअनुसार तटस्थ भएर काम गर्ने वातावरण नै छैन,’ उनले भने, ‘जनप्रतिनिधिको दबाब थेक्न नसक्दा सरुवा हुनुप¥यो ।’
स्थानीय तहका प्रमुखहरूले भने दुर्गममा दरबन्दी अनुसारका प्रमुख नआउँदा निमित्तको भरमा पालिका सञ्चालन गरेको दाबी गरेका छन् । संघीय सरकारले दुई वर्षयता प्रमुख प्रशासकीय अधिकृत नपठाएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । #कान्तिपुर#
















































। ३ फाल्गुन २०७७, सोमबार