विकेन खाद्यको चामल, खाद्यमा महंगो, बजारको सहंगो

जाजरकोट, ३ फागुन । वजारमा पाइने चामलको मुल्य भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रहेको चामलको मुल्य बढी हुँदा विक्री हुन् छाडेको छ । जिल्लाका सवै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मुल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नविकेको हो । मुल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मुल्य घटाउने तर्फ ध्यान नदिँदा कम्पनीको चामलले वजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।

अरुवा मध्यम चामल प्रतिकेजी रु ४९ , अरुवा मोटो रु ४६, स्टीम जिरा मसिनो ६५ , अरुवा मकवानपुर रु ४६ , अरुवा मोटो चामल ४६ , खाली प्लास्टिक ,जुट बोरो रु ४६ , प्लास्टिक ,जुट बोरो रु ४० , बंगलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट विक्री गरिरहेको छ । यही चामल वजारमा प्रतिकेजी रु १० भदा कममा विक्री हुँदा कम्पनीको चामल नविकेको हो ।

अहिले कम्पनीको नायकवाडा (घाट) चौखा , घोगी , दशेरा, ताँगा , रजुतरा ,घरंगा , टापुचौर , काउली , नलगाडमा रहेका डिपोबाट चामल विक्री भइरहेको छ । बजारमा पाइने चामल भन्दा डिपोमा पाइने चामलमा मुल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । यातायातको सहज पहुँच सँगै गाउँ , गाउँमा खाद्यान्न पुगेपछि कम्पनीको चामलले प्रतिस्पर्धा गर्न नसकेको हो ।

वर्षायाममा सडक अवरुद्ध भएपछि अत्याधिक माग बढेको भएपनि अहिले व्यापार कम्पनीको चामल महंगो भएको बारेकोट गाउँपालिका –५ का जनकबहादुर शाहीले जानकारी दिए । मुल्य घटाउन लेखि पठाएको भएपनि मुल्य घटेर केन्द्रबाट आइनपुगेको जाजरकोट शाखाका प्रमुख धर्मबहादुर बस्नेतले बताए । सहुलियतामा जनसाधारणलाई उपलव्ध गराउने भनिएको चामल नै बजारको भन्दा महंगो भएको गुनासो आएपछि पटक ,पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

उनले भने, ‘हामीले मुल्य घटाएर जनतलाइ राहत दिन आग्रह गरेर निर्णय गरि पठाएका छौँ तर मुल्य घटाएर पठाएको छैन ।’ जिल्लामा उत्पादन हुने अन्नले सवै ठाउँमा नपुग्ने भएकाले जाजरकोटमा खाद्यान्न आयात गरिदै आएको छ । भात मात्र खाने बानीका कारण गाउँ ,घरमा उत्पादन भएको ( स्थानीय उत्पादन) अन्नले महत्व नपाएको समेत गुनासो सुन्निदैँ आएको छ । अहिले जिल्लाको बारेकोट गाउँपालिकामा बाढी पहिरोले व्यापक क्षती बनाएका कारण सवै भन्दा मार त्यहाँ परेको प्रजिअ बरालले बताए ।

नलगाड नगरपालिका, शिवालय गाउँपालिकामा समेत बाढी पहिरोले खेतीयोग्य जमिनमा क्षती बनाएको थियो । क्षती भएका ठाउँमा खाद्यान्न भारी आयात गर्नुपर्ने बाध्यता भएपनि बजारको मुल्यसँग प्रतिस्पर्धा गर्नु मुख्य कार्य रहेको छ । #नेपालपाेस्टखबर#

तपाईको प्रतिक्रिया