अशक्तको सेवामा प्रशासन, रात्ती नै नागरिकता प्रदान

जाजरकोट, १४ माघ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर राति पनि नागरिकलाई सेवा प्रदान गरेका छन् । कार्यालय समयभन्दा पछि सेवा लिन कार्यालयमा आईपुगेका बहुँअपाङ्गता सेवाग्राहीलाई कार्यालयमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर राति पनि सेवा प्रदान गरेका हुन् ।

छेडागाड नगरपालिका–३ दशेराकी २५ बर्षिय पानसरा जैसी, २० बर्षिय बिरेन्द्र भट्टराई र १८ बर्षिय डिल्ली भट्टराईलाई नेपाली नागरिकताको प्रमाण–पत्र नबनाई नहुने करै लाग्यो । यि तीनै जना हात–खुट्टा नआउने, जीऊ लुलो भएका र बोल्न पनि नसक्ने बहुँ अपाङ्गता सेवाग्राही थिए ।

छेडागाड नगरपालिकाले सामाजिक सुरक्षा (अपाङ्गता) भत्तालार्ई बैंकिक प्रणाली मार्फत बितरण गर्न थालेपछि भत्ता भुत्तानी लिन बैंक खाता खोल्न उनीहरुलाई नेपाली नागरिकताको प्रमाण–पत्र बनाउनै पर्ने बाध्यता आईलागेको थियो । नेपाली नागरिकताको प्रमाण–पत्र लिनलाई दशेराबाट खलंगा स्थित जिल्ला प्रशासन कार्यालयमा पुग्नलाई नत उनीहरुसंग गाडी भाडा थियो, नत उनीहरुसंग होटलमा बस्ने बास खर्च थियो ।

उनीहरुलाई खलंगामा पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र लिनलाई सेभ द चिल्ड्रेनको साझेदारीमा छेडागाड नगरपालिकामा संचालित पँहुच परियोजनाले जाने आउने गाडी भाडाको व्यवस्था गरेको थियो ।

पँहुच परियोजनाको आर्थिक सहयोग तथा समन्वयमा नेपाली नागरिकताको प्रमाण–पत्र लिनलाई आईबार खलंगा नपुग्दै कार्यालय समय समाप्त भएर जिल्ला प्रशासन कार्यालय बन्द भईसकेको थियो । खलंगामै बास बसेर भोलिपल्ट नेपाली नागरिकताको प्रमाण–पत्र लिन सक्ने अबस्था उनीहरुसंग थिएन ।

बहुँअपाङ्ग तीनै जना जीऊमै दिसा, पिसाब गर्ने भएको हुदा उनीहरुलाई खलंगमा बास पाउन सक्ने अबस्था थिएन । सेवाग्राहीको आर्थिक तथा शारिरिक अबस्थालाई बुझेपछि प्रमुख जिल्ला अधिकारी चेतराज बरालले फाँटमा कार्यरत कर्मचारीहरुलाई सेवा दिन निर्देशन गरेका थिए ।

प्रजिअ बरालको निर्देशन पश्चात नागरिकता फाँटमा कार्यरत नायब शुब्बा नरेश पुन, खरिदार गणेशबहादुर नेपाली र सर्वजीति रानालाई तीन जनाको नेपाली नागरिकता बनाउनलाई झण्डै एक घण्टाको समय लागेको थियो नासु नरेश पुनले भने–‘त्यतिवेला नै लोसेडिङ भएर बत्ति थिएन, मोवाईको बत्ति बालेर काम गर्यौं, लोसेडिङ हटेपछि हामीले नागरिकता प्रिन्ट गरेर दिऔं ।’

बेलुका साढी ६ बजेतिर प्रिन्ट गरिएका नेपाली नागरिकताको प्रमाण–पत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले सहि गरेर सेवाग्राहीलाई नेपाली नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । बेलुका साढी ६ बजेतिर नेपाली नागरिकताको प्रमाण–पत्र प्राप्त गरेका तीनै जना बहुँअपाङ्ग सेवाग्राहीलाई गाडी साहुँ तथा चालक प्रकास केसीले रातिनै दशेरामा पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया