सरकारी विद्यालयको कर्तुत : आफ्नो भवन वडालाई, खुल्ला आकाशको पढाई

कालीबहादुर नेपाली
जाजरकोट, १३ माघ । जिल्लाको भेरी नगरपालिका २ वाहुनथान स्थित शंकर भवन माद्यामिक विद्यालयमा झन्डै पाँच सय भन्दा बढी विद्यार्थी पढ्दै आएका छन् । उनीहरु भवन अभावले खुल्ला आकाशमा पढ्न बाध्य छन् । भवन नै नभई उनीहरु खुल्ला आकाशमा पढ्न लागेका भने होइन्, भेरी नगरपालिका वडा नं. २ को कार्यालय विद्यालयको भवनमा सारिएपछि विद्यार्थी भत्किन लागेको पुरानो भवन र खुल्ला आकाशमा पढ्न बाध्य भएका हुन् ।

‘दैनिक जसो विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थी आउँछन्, ‘उनीहरु भत्किन लागेको भवनमा बस्छन्, ‘बस्ने ठाउँको अभावले खुल्ला विद्यालयको प्राङ्गनमा बसेर पढ्छन् एकजना अभिभावकले भने ।’ स्थानीय सरकार बनेको झन्डै चार बर्ष वित्न थाल्यो । चार बर्ष सम्म पनि वडा कार्यालयले भवन बनाई नागरिकलाई गुणस्तरीय सेवा दिन भने सकेको छैन ।

त्यसैमाथि विद्यालयको भवन बाटै सेवाप्रवाह गरिरहेको छ । भएको विद्यालयको भवन वडालाई दिने हाम्रा नानीवावुलाई खुल्ला चौरमा पढाउने यो विद्यालयको कस्तो नियत हो भन्दै अर्काे अभिभावक दिपेन्द्र खड्काले आक्रोश पोखे । विद्यालयको भवन माथी डाँडामा निर्माण गरिएको छ । अध्ययन गरिरहेको विद्यालयको भवन बाट नयाँ भवनमा जान झन्डै १० मिनेट लाग्ने गरेको छ । वडा कार्यालय रहेको भवन बाट विद्यालयले कुनै प्रकारको शुल्क लिने गरेको छैन । विद्यालयको भवनमा स्वाथ्य चौकीले समेत सेवा दिईरहेको छ ।

विद्यालयको भवनमा चार वटा कोठा छ । दुई कोठामा वडा कार्यालय र दुई कोठामा स्वाथ्य चौकीले सेवा दिईरहेका छन् । भएको भवन अन्य निकायलाई विद्यालयले दिँदा विद्यार्थीहरु हिउँदको जाडो र बर्खाको पानी छेल्न बाध्य छन् । गुणस्तरी शिक्षा तथा बालमैत्री नगरपालिका बनाउने लक्ष्य लिएको भेरी नगरपालिका भित्रका विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा महिनावारी हुदाँ धेरै किशोरीहरुले विद्यालय छोड्ने गरेको पत्रकार बालकुमार शर्माले बताए ।

‘विद्यालयको चरम लाप्रवाहीले विद्यार्थीहरु भत्किन लागेको भवन र खुल्ला आकाशमा पढिरहेका छन, ‘यसलाई तत्काल फिर्ता गर्नुपर्छ, अनि विद्यार्थीहरु स्वतन्त्र तरिकाले पढ्न सक्छन् पत्रकार शर्माले भने ।’

भवन वडालाई दिएका छैनौँ ः प्रधानध्यापक चन्द
शंकर भवन माद्यामिक विद्यालयका प्रधानध्यापक लालबहादुर चन्दले विद्यालयको भवन वडा कार्यालयलाई नदिएको बताए । कोरोना भाईरसका कारण विद्यालयमा क्वारेन्टाईन र स्वाथ्यको पहुँचमा नागरिकलाई जोड्न भवन उपलब्ध गराएको बताएका हुन ।

उनले भने, ‘भवन वडा कार्यालयलाई दिएका छैनौ, ‘कुनै निर्णय पनि भएको छैन, हामीले तत्काल लिन चाहेमा हाम्रो भवन लिन सक्छौँ ।’ ‘भौगोलिक रुपमा दुरी टाढा भएकोले दुई प्रशासन चलाउन गाह्रो भएका कारण उक्त भवन प्रयोगविहीन थियो, ‘केही समयका लागि वडालाई प्रयोग गर्न दिएको उनले थपे ।’ विद्यालयमा भवन अभावले विद्यार्थी खुल्ला आकाशमा बस्ने स्थिति नभएको र अलि पुराना भवन बनाउन बाँकी रहेको उनले दावी गरे ।

भवन हामी संग पर्याप्त मात्रामा रहेको उनको भनाई छ । एउटा प्रशासन भवन बाट अर्काे प्रशासन भवनमा जान १० मिनेट भन्दा बढी लाग्छ, त्यसैले माथिल्लो भवन अहिलेलाई वडा कार्यालयले प्रयोग गर्दै आएको प्रधानध्यापक चन्दले बताए ।

विद्यालयले भवन दिने निर्णय गरेको छ ः वडाध्यक्ष वली
भेरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कालीबहादुर वलीले विद्यालयले सो भवन वडा कार्यालयलाई दिने निर्णय गरेको बताए । माथी भएको विद्यालयको भवन प्रयोगविहीन भएकोले विद्यालयले वडालाई उक्त भवन बच्ने निर्णय गरेको बताएका हुन । उनले भने, ‘हामीले हुचुवाको भरमा वडा कार्यालयले राखेको छैनौ, ‘विद्यालय प्रधानध्यापक सहित व्यवस्थापन समितीले उक्त भवन वडालाई दिने निर्णय गरेका कारण वडाले सेवा सुरु गरेका हौँ ।’

आफ्नै भवन निर्माण गर्न नगरपालिकाले बजेट नै छुट्टयाएको छैन कसरी निर्माण गर्ने भवन भन्दै दुखेसो पोखे । नगरपालिकाले बजेट दियो भने विद्यालयलाई नजिकै भवन बनाईदिने वडा कार्यालयले यहि भवन बाट सेवा प्रवाह गर्ने उनको भनाई छ । स्थानीय सरकार बनेको चार बर्ष सम्म भेरी नगरपालिका भित्रका अधिकांश वडाहरु भाडाकै भरमा सञ्चालन भईरहेका छन् । आफ्नै भवन नगरपालिकाले अन्तिम चरणमा पु¥याएको छ ।

सरकार बनेको चार बर्ष सम्म भवन नबन्दा आम नागरिक सेवा लिन बाट बञ्चित भएका मात्रै छैनन् जनप्रतिनिधी समेत खोज्दै हिड्ने गरेको पाईन्छ । गाउँगाउँमा सिंहदरबार कागजमा मात्र आयो व्यवहारमा ल्याउन जनप्रतिनिधीको चासो हुनुपर्ने नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहको भनाई छ ।

सेवा प्रवाह निगरानीका लागि अनुगमन
सेवा प्रवाह निगरानीका लागि अनुगमन गरिएको छ । सुन्दर नेपाल संस्था जाजरकोटको आयोजनामा सेवाप्रदाय निकायमा गुणस्तरीय सेवा प्रवाह सम्बन्धी अनुगमन गरिएको हो । अनुगमनका क्रममा भेरी नगरपालिका २ बाहुनथानमा रहेको शंकर भवन माद्यामिक विद्यालय र बाहुनथान स्वास्थ्य चौकीमा अनुगमन गरिएको सुन्दर नेपाल जाजरकोटका कार्यक्रम अधिकृत जितेन्द्र बुढाले जानकारी दिए ।

विद्यालयमा सेनेटरी प्याडको व्यस्था, शैक्षिक,भौतिक अवस्था, शौचालयको व्यवस्था, भने अनुसारको दरबन्दी विद्यालयमा छ छैन् र विद्यालयको सेवा प्रवाह कस्तो छ भनी अनुगमन गरिएको अनुगमन टोलीका संयोजक राजेन्द्र विक्रम शाहले बताए । उनले भने, ‘हामीले अनुगमन गरेको भन्दा फरक पायौँ, विद्यालय लगायतका क्षेत्रमा धेरै समस्या रहेका छन् यस्तो समस्या समाधानका लागि स्थानीय सरकार लागिपर्नुपर्नेछ ।’

विद्यालयको वरीपरी वाल लगाउँदा डोजर तिर ध्यान नजाने र विद्यार्थीको पढाईमा डिस्टप भएकोले यसलाई कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्न आवश्यक रहेको पत्रकार सहदेव बस्नेतको भनाई छ । यस्तै अनुगमनका क्रममा स्वास्थ्य चौकी बाहुनथान र वडा कार्यालयको सेवा प्रवाहका विषयमा अनुगमन गरिएको छ । स्वास्थ्यमा सेवा प्रवाहको अवस्था एकदमै राम्रो रहेको पत्रकार बालकुमार शर्माले बताए । उनले भने, ‘स्वाथ्य चौकीको सेवा प्रवाह एकदम राम्रो छ ।’

‘तर वडा कार्यालय दिउँसो १ बजे नै बन्द हुने भएकोले खास वडा कार्यालयको सेवा प्रवाह राम्रो लागेन ।’ स्थानीयका अनुसार वडा कार्यालयमा वडाध्यक्ष महिनामा एक हप्ता मात्र आउने गरेको गुनासो गरेका छन । स्थानीय सरकारका प्रतिनिधी नै यस्तो गर्छन भने कर्मचारी के गर्लान भन्दै स्थानीय आक्रोश देखिन्थे ।

सुन्दर नेपाल संस्थाले जस्तै अन्य निकायले पनि सेवा प्रवाहको विषयमा अनुगमन गर्दा सेवा प्रदायक निकायको अवस्था फेरिने साझा आवाज परियोजनका संयोजक धनमल विकले बताए ।

तपाईको प्रतिक्रिया