
प्रेम विश्वकर्मा, जाजरकोट । सहकर्मी समाज, सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत जुनिचाँदे गाउँपालिका जाजरकोटका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजित तीनदिने जनकेन्द्रित विकास अवधारणा कार्यशाला मंगलवार खलंगा जाजरकोटमा सम्पन्न भएको छ ।
जुनिचाँदे गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले कार्यशालाको समापन गर्नुहुदै, जनकेन्द्रित विकास अवधारणा कार्यशालामा गरिएका छलफलका विषयवस्तु समय सान्दर्भिक रहेको र जनप्रतिनिधिहरु र कर्मचारीहरु संगै राखेर गरिएको विकास बहसले यस गाउंपालिकाको विकास प्रकृयालाई जनकेन्द्रित बनाउन र आम नागरिकहरुलाई सहज सेवा प्रदान गर्नका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनहरुमा जुनिचाँदे गाउँपालिका र सहकर्मी समाजका बीचमा समन्वय र सहकार्यका लागि आफू जहिले पनि तयार रहेको र निरन्तर संवाद र समन्वयका लागि सहकर्मी समाजको पनि भूमिका रहनुपर्ने कुरामा जोड गर्नुभयो ।
समापनका अवसरमा जुनिचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जनप्रतिनिधिहरु र कर्मचारीहरुका बीचमा नियमित रुपमा बैठकहरुको आयोजना गरी एकअर्काले भोग्नु परेका समस्या तथा अप्ठेरोहरु र सिकाईहरु आदान प्रदान गरी विकास प्रकृयालाई योजनावद्ध र प्रणालीवद्ध बनाएर अघि जान यो कार्यशाला प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यशालामा जुनिचाँदे गाउँपालिकाको सबै कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु र सञ्चारकर्मी गरी ५ जना महिला र २० जना पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।
यस अघि छेडागाड नगरपालिका जाजरकोटमा जनकेन्द्रित विकास अवधारणा कार्यशाला सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले कार्यशालामा गरिएका छलफलले छेडागाड नगरपालिकाको विकास अभियानलाई महत्वपूर्ण योगदान गर्ने र सहकर्मी समाजले सञ्चालन गर्ने यस्ता कार्यशाला, छलफल र बहसलाई निरन्तरता दिन, आगामी दिनहरुमा सहकार्य र समन्वयका अघि बढनुपर्ने विचार ब्यक्त गर्नुभएको थियो ।
छेडागाड नगरपालिकाका उपप्रमुख सरिता वलीले कार्यशाला ज्यादै प्रभावकारी भएको र यसले आगामी दिनमा पालिकालाई योजनावद्ध विकास प्रकृयामा अघि बढाउन योगदान गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायाले विकास प्रकृयाको समिक्षा गर्ने र आगामी दिनहरुमा योजनावद्ध विकास प्रकृयाको थालनी गर्न यो छलफल बहसले योगदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यशालामा ८ जना महिला र २५ जना पुरुष गरी ३३ जना जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण सहकर्मी समाज नागरिक सहभागिता कार्यक्रमका संयोजक हरि उपाध्याय र चम्फासिंह भण्डारीले गर्नुभएको थियो ।
















































। २७ कार्तिक २०७७, बिहीबार