विकासको नाममा नौटंकी : एक वर्ष बनाउने, अर्को वर्ष भत्काउने 

उदयराज अधिकारी, दैलेख ः २४ वर्षअघि स्थापना भएको जिल्लाको पुरानो नारायण नगरपालिकाको विकासमा नौटंकीजस्तै हुँदै आएको छ।

जनप्रतिनिधि आउनु केही समयअघि एक पटक, पछि एक पटक गरी दुई पटकसम्म पिच गरिएको दैलेख बजारको मुख्य सडक भत्काएर फेरि कालोपत्र गर्न लागिएको छ।

देवकोटा चोकदेखि गणेशचोक सम्मको सडक दुई वर्ष अगाडि साहारे खानेपानीको लाइन खन्दा भत्किएको भन्दै नगरपालिकाले ४० लाखको लागतमा पिच गरेको थियो। दुई वर्ष अगाडि पिच गरिएको सडक अहिले भत्काएर पुनः पिच गरिँदै छ।

यता नगरपालिकाले बीच बजारको सडक भत्किएकाले पनि पुनः पिच गर्न लागिएको बताएको छ। इन्जिनियर हिक्मत रोकायाका अनुसार दुई वर्ष अगाडि ४० लाखको लागतमा पिच गरिएको भए पनि साहारे खानेपानीको लाइन फुट्ने सड्क भत्किने गरेकाले फेरि कालोपत्र गर्न लागिएको बताए।

नारायणको बजार क्षेत्रमा साहारे खानेपानीको लाइन मुख्य समस्या हुँदै आएको छ। जसका कारण पटक पटक सडक भत्काउने र कालोपत्रे गर्ने काम हुँदै आएको हो ।
नगरपालिकाले दुई वर्ष अघि खानेपानीको लाइन खन्दा सडक भत्काएर कालोपत्र गरेको थियो। नागरिकस्तरबाट भने बजेट सक्ने मेलो मात्र भएको आरोप लगाइरहेका छन्।

उसो त २४ वर्षअघि स्थापना भएको नगरपालिकाले अहिलेसम्म आफ्नो क्षेत्रमा १२ किलोमिटर मात्र सडक पिच भएको जनाएको छ। इन्जिनियर रोकायाले मध्य पहाडी राजमार्ग सडक विभागले नारायण खण्डमा पिच गरेको सडक जोड्दा १२ किलोमिटर पुगेको जनाए ।  २४ वर्षको अवधिमा नगरपालिकाको लगानीमा मात्र दुई किलोमिटर सड्क पिच भएको हुन सक्ने रोकायाले जानकारी दिए ।  एकै ठाउँमा दुई वर्षको अवधिमा बनाउने भत्काउने कामले विकासमा नौटंकी भएको स्थानीय बताउँछन । #थाहाखबर# 

तपाईको प्रतिक्रिया