महिना दिनदेखि वेपत्ता गिरीको अवस्था अज्ञात

नौरते नेपाली, कार्तिक १६ जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ९ बयलकाटिया निवासी अन्दाजी २५ वर्षका ट्रयाक्टर चालक धन गिरीको अवस्था अज्ञात रहेको छ । गुठीचौर गाउँपालिका ५ का ४ जना युवाहरुको हातपात र ढुङ्गामुडा गरि असोज महिनाको १५ गते वेपत्ता पारेको चालक गिरीका दाई भैरे गिरीले अरोप लगाउनु भयो ।

गएको असोज महिनाको १५ गतेका दिन लु ३ त ९६२२ नम्बरको ट्रयाक्टरमा सिरया र सिमेन्ट लोड गरी मणिसाघु पुगी सामान झारी खाली ट्रयाक्टरमा घरतिर फर्किने क्रममा जवरजस्ती ट्रयाक्टरमा चढी जुम्लाको लामाकार भन्ने स्थानमा पुग्दा ट्रयाक्टर रोकि चालकलाई रातिको साढे ९ बजेतिर हातपात तथा ढुङ्गामुडा गरेको हुनाले चालकको अवस्था हालसम्म अज्ञात रहेको परिवारले जनाएका छन् । गुठीचौर गाउँपालिका ५ बस्ने विमल महत, भोटे नामले बोलाइने दन्द वहादुर भण्डारी, सागर गिरी र विनोद गिरीले चालकलाई हातपात तथा ढुङ्गामुडा गरेको वेपत्ता गिरीका दाई भैरे गिरीले जानकारी दिनुभयो ।

चालक गिरीको अवस्था के कस्तो छ ? यथाशिघ्र छानबिन गरी आफन्तलाई कि लास कि सास उपलब्ध गराउन वेपत्ता गिरीका घरपरिवारले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । चालक सँगै गएका सह चालक दानवहादुर रावतलाई घटनाको सहि सूचना दिन छलकपट गर्न लगाउनु र ट्रयाक्टर मालिक रेणु शाहीले आफ्नो ट्रयाक्टर चालकको हालसम्म खोजी कार्यमा चासो नदेखाउनु जस्ता कारणले घटना रहस्यमय बन्दै गएको उहाँको भनाइ छ ।

ट्रयाक्टरमा सँगै रहेका चालक र सहचालक दुई जना मध्ये सहचालकको अवस्था सबैले देख्ने गरी मालिकको सम्पर्कमा रहनु र चालकको अवस्था अज्ञात हुनुले घटनाको रहस्य लुकेको वेपत्ता गिरीका आफन्त तुलराजगिरीले जानकारी गराउनु भयो । महिना दिन भइसक्दा पनि चालक सम्पर्कमा नआएको हुनाले जीवित भेटाउने आशा मरि सकेको उहाँले बताउनु भयो । वेपत्ता चालक आफन्त कसैको पनि सम्पर्कमा नरहेको उहाँले जानकारी गराउनु भयो ।

घटनाको विषयमा सहचालकलाई सबै जानकारी रहेको भन्दै उहाँले प्रहरीलाई सबुत प्रमाण ल्याउन अनुरोध गर्नु भएको छ । घटनाका विषयमा सरोकारवाला निकायको ध्यान बैलेमा नपुगे त्यसपछि उत्पन्न हुने क्षतिको सबै जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने वेपत्ता गिरीकाले आफन्तले जनाएका छन् । घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न पीडितका आफन्तले माग गरेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा व्यक्ति बेपत्ता सम्वन्धी उजुरी दर्ता गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक माधव काफ्लेका अनुसार ५ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताउनु भयो ।

नियन्त्रणमा लिएकाहरुलाई सोधपुच्छ गर्दा हातपात गरेको भनी हालसम्म स्वीकार गरेको भन्दै उहाँले अदालतमा गए पछि बयान बदल्न सक्ने पनि बताउनु भयो । वेपत्ता गिरीका आफन्तले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढि सकेको काँफ्लेले जानकारी गराउनु भयो । घटनाका विषयमा थप अनुसन्धान प्रहरीले गरि रहेको भन्दै उहाँले वेपत्ता गिरीको अवस्थाका बारेमा वास्तविक जानकारी हुन नसकेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया