स्थानीय सरकारले गुनासाे नसुकेकाे भन्दै जुम्लाका महिला मन्त्री गुहार्दै पुगे सदरमुकाम

दिलमाया शाही , जुम्ला : पातारासी गाउँपालिका-२ पेरेका महिला मेलापात गर्ने बाटोको माग्दै सदरमुकाम खलंगा पुगेका छन्। उनीहरुले परे गाउँदेखि झारल पहिर जंगलसम्म जाने बाटो बनाइदिनुपर्ने माग राखेका छन्।

मेलापात गर्ने एक मात्रै बाटोमा पहिरो गएपछि आवतजावतमा समस्या आएको उनीहरुले बताउँदै आएका छन्।

गाउँको सरकार गाउँपालिकामा पटक पटक पहिरो पन्छाइदिन माग गर्दा पनि सुनुवाइ नभएपछि मन्त्री, सांसद र नेतासँग भेट्न खलंगा आइपुगको स्थानीय बुद्धिकला ऐडीले बताइन्।

‘बाटोमा पहिरो गएपछि जंगलमा घाँस दाउरा संकलनका लागि जान निकै समस्या छ। हामीले वडा सरकार, गाउँपालिका सरकारलाई पटक पटक निवेदन दियौँ। कुनै सुनुवाइ भएन। त्यही भएर प्रतिनिधि सभा सांसद गजेन्द्र महत, पूर्वराज्य मन्त्री र नेता भेट्न खलंगा आइपुगेका हौँ,’ बुद्धिकलाले भनिन्।

एक साताअघि जंगलमा घाँस लिन जाँदा लडेर आफ्नो हात भाँचिएको पनि उनले सुनाइन्।

अस्पतालले दिएको एक्सरे रिपोर्ट देखाउँदै ऐडीले भनिन्, ‘अब घाँस दाउरा लिन जाँदा अन्य महिला दिदीबहिनीको हात भाँचिएको हेर्न चाहँदैनौं। तत्काल बाटो बनोस्।’

धेरै ठूलो विकास पनि आफूहरुले नमागेको उनको भनाइ छ। ‘स्थानीय सरकारले महिलालाई घाँस दाउराका लागि एउटा बाटो बनाइदिँदैन। हामी महिलाको प्रदेश र संघीय सरकारसंग पहुँच पुग्दैन। पहिरोले बिगारेको बाटो समेत बनाउन सकिएको छैन,’ उनले दुख पोखिन्।

असहज बाटोकै कारण केही महिला घाइते

यस बाटोमा अहिलेसम्म लडेर चार जना घाइते भइसकेका छन्।’ पेरे गाउँकी तारादेवी कामीले भनिन्, ‘वडा कार्यालयमा जाँदा सुनुवाइ भएन। गाउँपालिकाले पनि हेरेन।‘ गाउँको सरकारले नसुन्दा प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत पूर्वराज्य मन्त्री र नेतालाई समेत भेट्यौँ। गाउँ जाने हरेक नेतालाई सम्झायौँ। तर कसैले सुनेनन्।’

पूर्वमन्त्री र नेताले बाटो बनाइदिन स्थानीय सरकारलाई आग्रह गर्ने जानकारी दिए पनि पेरे गाउँका महिला भने बाटो बन्ने तत्काल आशा गरे पनि भरोसा गर्न सकिने अवस्था नरहेको बताउँछन्।

जनताको नमस्कार सुन्दै जनप्रतिनिधि

परे गाउँकी अर्की सन्तकली कामी पीडा पोख्दै भन्छिन्, ‘जनप्रतिनिधि नमस्कार सुन्दैनन्। चुनावताका खुट्टा ढोग्न आउने जनप्रतिनिधि अहिले जनताका समस्यासँग सहभागी हुन चाहँदैनन्।’

उनले थपिन्, ‘प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले केही चिन्ता नगर्नुस् ढिलोचाँडो माग पूरा गर्छौ भन्नुभएको छ।’ बाटो बनाउन सबैको ध्यानाकर्षण गराएका छौँ। दुई दिनअघि मात्र लालकली ऐडीको ढाड भाँचिएको छ। विश्वरुपा कामीको करङ भाँचिएको छ। दुवै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामाा उपचार भइराखेको छ।’

पातारासी-२ पेरे गाउँमा ३ सय ६० घर छन्। गाउँमा सरकार त पुग्यो। तर महिलाका समस्या संग एकाकार हुने सरकार भेटिएन भन्दै गाउँका महिला यतिबेला निरास बनेका छन्। महिलाका समस्या सम्बोधन गर्न कसैले पनि नचाहने पनि महिलाहरु बताउँछन्।

तपाईको प्रतिक्रिया