सीपले बनायो हरीभक्तलाई महिनाको एक लाख कमाउने

जाजरकोट । कुशे गाउँपालिकाका हरिभक्त नेपालीले सीप बेचेर जीवन निर्वाह गरिरहेका छन् । चित्रकला र मूर्तिकला सम्बन्धी कुनै पनि प्रकारको औपचारिक ज्ञान हासिल नगरेको बताउने उनी अभ्यासकै भरमा विभिन्न आकारका मूर्ति र शालिकहरु बनाउँछन् ।

देखे सुनेकै आधारमा पनि विभिन्न देवी देवताको मूर्ति र व्यक्तिहरुको शालिक बनाउन सक्ने प्रतिभा उनीसँग छ । उनले एउटा मुर्तिलाई न्यूनतम २५ हजार देखि अधिकत्तम डेढ लाख रुपैयाँ सम्ममा बेच्ने गरेका छन् । जाजरकोटको दुर्गम गाउँमा बसेर पनि आफ्नो सीप बेचेर सफलता हासिल गर्न सफल हरिभक्त नेपाली सानै देखि चित्रकलामा रुची राख्थे ।

उनले १३ बर्ष अघि आफ्नो सीपलाई मूर्ति बनाउन प्रयोग गरेका थिए । अहिले यही सीप उनी र उनको परिवारको लागि जीवन धान्ने गतिलो आधार बनेको छ । शिक्षण पेशा छाडेर २०५७ सालमा माओवादी विद्रोहमा होमिएका उनले शान्ति स्थापना पछि आयआर्जनको अरु बिकल्प नदेखिपछि मूर्ति बनाउन सुरु थालेका थिए । अहिले उनी गाउँमै बसेर महिनामा एकलाख रुपैया कमाउँदै आएको दावी गर्छन् । मुर्ती बनाउने पेशा थालेपछि आम्दानीसँगै आत्म सम्मान पनि बढेको अनुभूति उनको छ ।

मूर्तिकलासगै राजनीतिकलाई पनि अघि बढाएका हरिभक्त अरुलाई सिकाउनु भन्दा राजनीति गर्ने व्यक्तिले पहिले आफैबाट आयआर्जनको काम सुरु गर्नुपर्ने बताउँछन् । सीप अनुसारको व्यवसाय गर्दा सफलता मिल्ने अनुभूति संलागेका उनी युद्धको बेलासंगै बन्दुक बोकेका कतिपय साथीमा पछिल्लो समय आएको परिवर्तन देख्दा चित्त दुख्ने गर्छ ।

आर्थिक लगानी भन्दा सीपको लगानीबाट आयआर्जन गर्न सजिलो हुने भएकोले सवैभन्दा पहिले आफुभित्रको सीप पहिचान गर्नु पर्ने उनको सझुाव छ । मूर्ति बनाउने सीप अरुलाई पनि सिकाईरहेका उनी आफुमा भएको सीपलाई प्रयोगमा ल्याउन सके आयआर्जन गर्नको लागि कतै भौतारिनु नपर्ने बताउँछन् ।

तस्वीर हरिभक्त नेपालीकाे फेसबुक बाट लिइएकाे हाे ।

तपाईको प्रतिक्रिया