एसईई मार्कसिटका नाममा सल्यानका सामुदायिक विद्यालयहरुले चर्काे शुल्क लिए

सल्यान । सल्यानका अधिकांश सामुदायिक विद्यालयहरुले एसईई परिक्षामा पास भएका विद्यार्थीहरुबाट चर्को शुल्क लिइरहेका छन् । चन्दा दाताको भरमा सञ्चालन हँदै आइरहेका सामुदायिक विद्यालयहरुले अहिले एसईई उतिर्न विद्यार्थीहरुको ढाड सेक्ने गरि शुल्क तोकेका छन् ।

सरकारले एसईई पास भएका विद्यार्थीको सटिफिकेट लिनलाई २ सय ५० रुपैयाँ मात्रै तोकेको भएपनि सल्यानका सामुदायिक विद्यालयहरुले आफुखुसी शुल्क तोकेका छन् । यी विद्यालयले १ हजार देखि ४ हजार रुपैयाँसम्म विद्यार्थीहरुबाट शुल्क उठाईरहेको तथ्य लेकाली अनलाइनले फेला पारेको छ । निजी स्कुलमा पढ्ने अवस्था नभएर सरकारी विद्यालयमा पढ्न जाने विद्यार्थीहरुबाट यसरी नियम विपरित चर्को शुल्क असुली गर्दा विद्यार्थीहरु मारमा परेका छन् ।

जिल्लाको बागचौर नगरपालिका ९ खोरबारेमा रहेको शिशु जागरण माविले एसईई पास भएका विद्यार्थीबाट ४ हजार रुपैयाँ शुल्क लिइरहेको छ । अहिले ४ हजार नतिर्दा एसईईको सटिफिकेट नपाइने विद्यार्थीहरुले गुनासो गरेका छन् । यहाँ पहिलेका वर्षहरुमा पनि यसरी नै सटिफिकेट लिदा विद्यार्थीबाट चर्को शुल्क लिइन्थ्यो ।

निजि श्रोतबाट शिक्षकहरु राखेको र शिक्षकलाई तलब खुवाउनको लागि विव्यस समितीले निर्णय गरेर शुल्क लिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोक बहादुर डाँगीले बताए । उनले भने, “हामीले निजी श्रोतबाट शिक्षकहरु राखेका छौं । उहाँहरुलाई तलब खुवाउने अरु कुनै माध्याम छैन् । यसरी अभिभावकबाट पैसा उठाएर तलब खुवाउछौं । सरकारले फुल दरबन्दीमा शिक्षक राखेको भए यस्तो समस्या आउने थिएन ।’

त्यस्तै बनगाड कुपिण्डे नगरपालिका देवस्थलमा रहेको प्रभाकर माविले पनि सटिफिकेटका नाममा प्रति विद्यार्थी १५ सय रुपैयाँ लिएको छ । यहाँ पनि विद्यालय चलाउन भन्दै नियम विपरित शुल्क उठाइएको हो । त्यस्तै त्रिभुवन मावि च्युराले पनि प्रति विद्यार्थी १ हजार रुपैयाँ लिएको खुलेको छ । जिल्लाका अन्य विद्यालयहरुले पनि यसरी नै विद्यार्थीबाट चर्को शुल्क लिइरहेका छन् ।

त्यसैगरी जिल्लाका अन्य केहि विद्यालयहरुले कति शुल्क लिने भन्नेबारे अझै विद्यालय व्यवस्थापन समितीको बैठक बसेको छैन् । उनिहरुले अहिले विद्यार्थीको सटिफिकेट नआएको भन्दै सटिफिकेट दिएका छैनन् ।

२५० भन्दा बढि तिर्नु पर्दैन्

बागचौर नगर शिक्षा शाखा प्रमुख टेक बहादुर डाँगीले एसईई पास भएका विद्यार्थीले सटिफिकेट लिन २५० मात्रै तिर्नुपर्ने सरकारी नियम रहेको बताए । सटिफिकेट दिने बहानामा विद्यार्थीबाट यसरी पैसा नउठाउन विद्यालयहरुलाई सचेत गाराइएको उनले बताएका छन् ।

अविभावकहरुले आफुखुसी विद्यालयलाई सहयोग गर्न सक्ने तर बाध्यकारी नियम भने बनाउन नहुने उनले बताए । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, “विद्यार्थीहरुले २५० मात्रै शुल्क तिरेर मार्कसिट लिदाँ हुन्छ । त्यसरी विद्यालयले मार्कसिट दिएन भने स्थानीय तहको शिक्षा शाखामा उजुरी दिनुहोला, त्यसो गर्दा नियम विपरित शुल्क लिनेलाई कारबाही हुन्छ ।’

शुल्क उठाउनु बाध्यता

सल्यान जिल्लाका ४ सय ४७ सामुदायिक विद्यालयमध्ये १ सय ४१ विद्यालयमा दरबन्दी शून्य छ । अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव छ । जसका कारण सामुदायिक विद्यालय चन्दा र अभिभावकको सहयोगको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता देखिएको छ ।

१ सय ४१ सामुदायिक विद्यालय शुन्य दरबन्दीबाट सञ्चालन हुँदै आइरहेका छन् भने अन्य विद्यालयका दरबन्दी अनुसारको शिक्षक अपुग हुँदै आइरहेको छ । जसका कारण सामुदायिक वन, देउसीभैलो र चन्दाको रकमबाट विद्यायल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा २ सय ८७ प्राथमिक, ८७ निम्न माध्यमिक र ७३ माध्यमिक विद्यालय छन् । इकाईका अनुसार प्राथमिक तहमा आठ सय ४०, निम्न माध्यमिकमा एक सय तीन, माध्यमिक तहमा ९१ दरबन्दी छन् । इकाईले प्राथमिक तहमा तीन सय ५६, निम्न माध्यमिक तहमा एक सय र माध्यमिक तहमा ६२ राहत शिक्षकको व्यवस्था गरिएको जनाएको छ । #लेकाली अनलाईन#

तपाईको प्रतिक्रिया