आयोजनाबाट रकम लिएको वडाअध्यलाई शिक्षकले लगाए आरोप

प्रकास राेकाय

जाजरकाेट  – विद्यालय भवन निर्माण योजनाबाट वडाअध्यक्षले रकम लिएको विद्यालयका शिक्षकले आरोप लगाएका छन् । विद्यालयको रकम हिनामिना गरेको आरोपमा बैंक खाता रोक्का गरिएपछि शिक्षकले वडाअध्यक्षलाई यस्तो आरोप लगाएका हुन् ।

भेरी नगरपालिका–९ लामाकाट्टे स्थित शिवशक्ति आधारभुत विद्यालयमा कार्यरत शिक्षक धनबहादुर डाँगीले वडाअध्यक्ष धुर्वप्रसाद पौडेललाई ५५ हजार घुस लिएको आरोप लगाएका छन् । शिक्षक डाँडीले आव २०७५÷०७६ मा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको २० लाख अनुदानमा बनेको दुई कोठे विद्यालय भवनबाट उक्त रकम लिएको आरोप लगाएका छन् । विद्यालय भवन योजना पार्न दौडधुम गरेबाफत अध्यक्ष पौडेलले आफुबाट उक्त रकम लिएको शिक्षक डाँगीको भनाई रहेको छ । आफैले घुस लिने तर, विद्यालयको सार्वजनिक परिक्षणमा विव्यस र अविभावकलाई हातमा लिएर मेरो नाममा बेरुजो निकाल्ने काम गरिएको छ शिक्षक डाँगीले भने–‘मलाई प्रअबाट हटाउनुको साथै मेरो खाता रोक्का गरिएको छ, १० महिनाको तलब पनि खान पाएको छैन ।’

वडाअध्यक्षले आफुलाई अन्याय गरेको बताउदै शिक्षक डाँगीले न्यायको लागि आफुले नगरपालिकालाई निवेदन दिएको बताए । नगर न्यायपालिकाबाट आफुले सही न्याय पाउने विश्वासमा आफुले नगरपालिकामा निवेदन दिएको डाँगीले बताए ।

उक्त बिद्यालय भवन आयोजनाबाट आफुले एक गिलास चियासम्म नखाएको वडाअध्यक्ष पौडेलले दावी गरेका छन् । विरामी भएर उपचार गर्न काठमाडौं जानेवेलामा आफुले सापटी स्वरुप विद्यालयबाट ५५ हजार लिएको तर, काठमाडौंबाट फर्किएको १५ दिनपछि उक्त रकम विद्यालयलाई फिर्ता गरेको अध्यक्ष पौडेलले बताएका छन् । शिक्षक डाँगी विद्यालयमा नियमित उपस्थित नहुने, १० दिनको हाजिरी एकै दिन लगाउने, नियमित रुपमा जाँड खाएर विद्यालयमा आउने गरेको वडाअध्यक्ष पौडेलको आरोप छ ।

शिक्षक डाँडीले विद्यालयमा आएको छात्रवृद्धीको रकम वितरण गर्नुको सट्टा आफैले निकालेर हिनामिना गरेको, विद्यालय सहयोगीको तलव निकासा गरेर आफैले खाएको, विद्यालयमा बुक कर्नरको लागि आएको रकम हिनामिना गरेको, प्रारम्भिक बाल शिक्षाका शैक्षिक सामाग्री खरिदको रकम हिनामिना गरेको वडाअध्यक्ष पौडेलले बताए । आफ्ना कर्तुतहरुको ढाकछोप गर्न शिक्षक डाँगलिे आफुलाई ५५ हजार घुस खाएको आरोप लगाएको जिक्किर गरे । वडाध्यक्ष पौडेलले दिएको जानकारी अनुसार उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिश वलीले ७ वटा चेकमा सहि गरेको भएतापनि शिक्षक धनबहादुर डाँगीले आफैले अध्यक्षको कृते सहि गरेर १४ वटा चेक बैंकमा साटिसकेका छन् ।

उपचार गर्न काठमाडौं जानेवेलामा वडाअध्यक्ष पौडेलले विद्यालयबाट सापटी स्वरुप ५५ हजार लिएको तर, उपचारबाट फर्कि सकेपछि उक्त रकम फिर्ता गरी सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिश वलीले जानकारी दिएका छन् । वडाअध्यक्ष पौडेलले फिर्ता गरेको उक्त रकम विद्यालय भवन निर्माण कार्यमा काम गरेका श्रमिकलाई वितरण गरिएको अध्यक्ष वलीको भनाई रहेको छ ।

खाता रोक्का भएर आफुले तलव खाना नपाएको बिषयसंगै वडाअध्यक्ष पौडेलले लिएको ५५ हजारका बिषयमा आबश्यक छानविन गरी असुलउपर गराई पाउभनि शिक्षक धनबहादुर डाँगीले नगरपालिकामा निवेदन दिएको भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिएका छन् ।

उक्त शिवशक्ति आधारभुत विद्यालय लामाकाट्टेमा आव २०७५÷०७६ मा भेरी नगरपालिकाको २५ लाख अनुदानमा आरसिसी पिल्लर र ढलान सहितको चार कोठे भवन बनेको छ भने, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको २० लाख अनुदानमा दुई कोठे ट्रष्ट निर्माण भएको छ । सामाजिक बिकास मन्त्रालयको २० लाख अनुदानमा अग्रिम आयकर र बहालकर कट्टी गरेर उक्त विद्यालयलाई १९ लाख ७० हजार भुक्तानी दिएको सामाजिक बिकास कार्यालय जाजरकोटका ईन्जिनियर सेरबहादुर महतराले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया