विपन्न विद्यार्थीलाई डाक्टर पढाउँदै नगरपालिका

१३ जना अति विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

जिल्लाको छायानाथ रारा नगरपालिकाले दुईजना अतिविपन्न दलित तथा जेहेनदार विद्यार्थीलाई बंगलादेशमा डाक्टर पढाउँदै आएको छ ।

छायानाथ रारा नगरपालिकाभित्रका अतिविपन्न दलित तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत दुईजनालाई बंगलादेशमा डाक्टर र ११ जनालाई नेपालमै राम्रो विषय अध्ययन गराउँदै आएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रभित्र बसोवास गर्ने अतिविपन्न, पिछडिएका, दलित समुदायका जेहेनदार १३ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग कार्यक्रममार्फत बर्सेनि सहयोग गर्दै आएको छ ।

विकट हिमाली जिल्ला मुगुमा शिक्षा र स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउन र छायानाथ रारा नगरपालिकालाई शिक्षा, स्वास्थ्यमा पहुँच बढाउन नगरपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।

आर्थिक वर्ष ०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरी कार्यक्रम निरन्तर अगाडि बढाएकाे उनको भनाइ छ । उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्र रहेका विपन्न दलित, गरिब, पिछडिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गर्दै आएको प्रमुखको भनाइ छ ।

दुईजनालाई बंगलादेशमा डाक्टर र अन्यलाई नेपालमै इन्जिनियर, सिएलगायतका राम्रो विषयमा अध्यनका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको उनले जनाए ।
आर्थिक वर्ष ०७६/७७ मा पनि छात्रवृत्ति कार्यक्रमलाई निरन्तता दिइएको थियो । नौ लाख रकम विनियोजित गरी १३ जनालाई छात्रवृत्ति सहयोग गरिएको छ ।

छात्रवृत्तिको लागि आव ०७४/७५ मा आठ लाख, ०७५/७६ मा १० लाख र ०७६/७७ मा नाै लाख रकम विनियोजित गरिएको नगरपालिकाकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया