त्रिविको विद्यार्थीलाई सम्पर्कमा आउन सूचना

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच सम्पर्क विच्छेद भएकोले विद्यार्थीलाई यस्तो अनुरोध गरिएको हो । कोरोनाको त्रास लामो समयसम्म रह्यो भने वैकल्पिक माध्यमबाट कसरी पढाइ सञ्चालन गर्दा पनि थुप्रै विद्यार्थी सम्पर्कमा नआएको त्रिविले जनाएको छ ।

अनलाइन कक्षा सञ्चालन भएका तहमा सम्पर्क गर्न र अहिले पढाइ नभएपनि भविष्यमा पढाइ सञ्चालन गर्ने त्रिविले जनाएको छ । साथै बैकल्पिक माध्यमबाट पढाइ तथा परीक्षा सञ्चालन गर्दा विद्यार्थीको पहुँच कस्तो रहन्छ भन्ने विषयमा पनि त्रिविले विद्यार्थीबाट धारणा माग्न खोजेको छ । क्याम्पसमा भर्ना गर्ने समयमा विद्यार्थीसंग फोन नम्बर नमागिएको र माग्दा पनि छैन भन्ने जवाफ आएकोले विद्यार्थीसँग लामो समय सम्पर्क विच्छेद भएको त्रिविका उपकुलपति प्राध्यापक डा‍. धर्मकान्त बास्कोटाले बताए ।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले जारी गरेको सूचनामा विद्यार्थीलाई तुरुन्त क्याम्पस, विभाग तथा स्कुलमा सम्पर्क गरेर अनलाइन कक्षामा सहभागी हुन अनुरोध गरिएको छ । साथै सम्बन्धित विभाग तथा डिन कार्यालयलाई पनि विद्यार्थीलाई सम्पर्कमा ल्याउने काममा सक्रिय हुन निर्देशन दिइएको छ। त्रिविमा आंगिक तथा सामूदायिकमा समेत गरेर चार लाख ९२ हजार विद्यार्थी अध्ययनरत छन् । उपकुलपति बास्कोटाका अनुसार ७६ जिल्लाका विद्यार्थी यहाँ पढ्छन् ।

तपाईको प्रतिक्रिया