कर्णालीका तीन जिल्लामा आइसियू बेड थपिने

nayapatrikadaily

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण दर बढेका कारणले त्यसको रोकथाम र नियन्त्रण गर्न कर्णाली प्रदेशका तीन जिल्लामा आसियू बेड थप्ने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन केन्द्रको बैठकले दैलेख, सल्यान र कालिकोटका जिल्ला अस्पतालमा आइसियू बेड थप्ने निर्णय गरेको हो ।

तीन जिल्लाका जिल्ला अस्पतालमा आइसियू बेड थप्नका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।

तीनवटै जिल्ला अस्पतालमा पाँच–पाँचवटा आइसियू र एक–एकवटा भेन्टिलेटर थप्ने सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘दुई हप्ताभित्र आइसियू र भेन्टिलेटर सुरु गर्ने काम अगाडि बढेको छ,’ उनले भने, ‘सुर्खेत र जुम्ला अस्पतालमा पनि आइसियू र भेन्टिलेटरमा पनि थप गर्ने विषयमा छलफल भएको छ ।’

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा ४० आइसियू र १७ भेन्टिलेटर रहेका छन् ।

त्यस्तै, प्रदेश विपत् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेबाट कर्णाली भित्रिनेले सल्यानको कालिमाटीको काल्चे, कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा अनिवार्य आरटी पिसिआर रिपाेर्ट देखाउनुपर्ने निर्णय गरेको छ । नयाँ पत्रिका 

तपाईको प्रतिक्रिया