अनियमितता छानबिन गर्न राखेपलाई खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का विभिन्न खेल र खेलाडीको सामान खरिदमा भएको अनियमितताको छानबिन गरि कारबाही गर्न निर्देशन दिएका छ ।

मन्त्रालयमा शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडी लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभुत सामाग्रीको दाखिला तथा वितरणमा भएको भनिएको अनियमितताको छानबिन गरि दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका हुन् ।

परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले साग खेलकुदको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको सार्वजनिक रुपमा आरोप लगाएपछि मन्त्रालयले समिति गठन गरि छानबिन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिवलाई निर्देशन दिएका हाे ।

यस्तै, बैठकमा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुद क्षेत्रमा सुशासन कायम राख्न अबलम्बन गर्नुपर्ने संरचनागत र संस्थागत सुधारको कार्ययोजना बनाउन राखेपलाई निर्देशन दिएका छन् ।

उनले खेलकुद ऐन २०७७ को मर्म र भावना अनुसार सुशासन कायम राख्न र संस्थागत सुधारको कार्ययोजना बनाउन सदस्य सचिव रमेशकुमार सिलवाललाई निर्देशन दिएका हुन् ।

यस्तै, बैठकमा २०२१ सालमा स्थापना भएको परिषद्को ५७ औं दिवस मनाउने सन्दर्भमा समेत निर्णय भएको छ ।

बैठकले सरकार र स्वास्थ्य मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड अनुसार प्रविधिको अधिकतम प्रयोग गरेर परिषद्को दिवस बनाउन गर्नुपर्ने रचनात्मक कार्यक्रमको खाका तयार गर्न राखेपलाई निर्देशन दिएको हाे ।

मन्त्रालयमा झण्डै चार घण्टा चलेकाे बैठकमा खेलकुद मन्त्री विश्वकर्माले राखेप सदस्य सचिव सिलवाललाई तीन बुँदे निर्देशन दिएका हुन् ।

बैठकमा राखेपलाई आगामी दिनमा कसरी सञ्चालन गर्ने सन्दर्भमा समेत छलफल भएको बैठकमा सहभागी एक अधिकारीले खेलपाटीलाई जानकारी दिए ।

शुक्रबार बसेकाे मन्त्रीस्तरीय बैठकमा नयाँ ऐनको मर्म र भावना अनुसार राष्ट्रिय संघका विधानलाई एकिकृत गर्ने बिषयमा समेत अनौपचारिक छलफल भएको थियो ।

बैठकमा सदस्य सचिव सिलवालले निश्चित अवधि तोकेर नियमित रुपमा बैठक बस्नुपर्नेमा प्रस्ताव राखेका थिए । नयाँ ऐन असार १७ गते कार्यान्वयनमा आएपछि मन्त्री सहित नवनियुक्त राखेपका पदाधिकारीको पहिलो औपचारिक बैठक शुक्रबार बसेको छ ।

सदस्य सचिव सिलवालले मन्त्रालय सहितको बैठक समय तोकेरै नियमित रुपमा बस्नुपर्नेमा जोड दिएका हुन् ।

खेलकुद मन्त्रालय र परिषद्का बैठक नियमति बस्न नसक्दा खेल क्षेत्र भद्रगोल बनेको खेल सम्बद्ध अधिकारी बताउँछन् ।

तपाईको प्रतिक्रिया