
निरज आचार्य
केन्द्रीय कमिटी सदस्य निरज आचार्य ( नेकपा ) जाजरकोट – जेठ १० गते शनिबार चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा भएको घटनाबाट जाजरकोट भेरी नगरपालिकाका होनाहार युवाहरू नबराज विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विक तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नदिको विभिन्न स्थानमा फेला परेको छ भने गोविन्द शाहीको खोजी कार्य भैरहेको छ ।
आज सम्म उनको अवस्थाको पत्ता लाग्न सकेको छैन । आधुनिक समाज र मानवीय मूल्यहरूलाई समेत चुनौती दिनेगरी भएको उक्त निरशंस घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । आफ्ना लक्का जवान छोराहरूलाई गुमाउनु परेका परिवारका निम्ति यो अझ बढि पीडादायी अवस्था हो ।
निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पीडितलाई न्याय दिन नेपाल सरकारसँग हामीले निरन्तर अनुरोध गर्दै आएका छौँ। हामी विश्वास दिलाउछौं सरकारसहित सिंगो राज्य तपाईंहरूको साथमा छ । निर्वाचित जनप्रतिनिधिहरू र सिंगो नेकपा तपाइहरूको साथमा छ । विभिन्न राजनैतिक एवं सामाजिक संघ संस्थाहरू समेत तपाईंहरूको साथमा छन् ।
घट्नाको जानकारी पाएलगत्तै खोजी कार्य र अनुसन्धानलाई प्रभावकारी ढंगले अघि बढाउन, जिल्लाका जनप्रतिनिधहरू, सरकारी संयन्त्र र पार्टीले अन्य स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गर्दै आइरहेको ब्यहोरा सवैलाई अवगतै छ । जाहेरी दर्ता भएको छ । जाहेरीमा उल्लेखित व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।
हालसम्म फेला नपरेका गोविन्द शाहीकोे खोजीमा सशस्त्र प्रहरी बलको गोताखोर टीम लगायतले खोजी कार्य गरिरहेको छ । सबैतिरबाट खबरदारी पनि भइरहेको छ । नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले घटनास्थल पुगेर छानबिनको काम पनि थालिरहेको छ । मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिको टीम पनि घटनास्थलतर्फ पुग्दैछ ।
कर्णाली प्रदेशका माननीयहरूको समूहले स्थलगत अनुगमन गरी स्थानीय प्रशासनलाई आवशयक निर्देशन गरिसकेको छ। सत्यतथ्य छानबिन, अपराध कर्ममा संलग्नहरूलाई कारबाही र पीडितले न्याय नपाउन्जेलसम्म हाम्रो खवरदारी यही रूपमा जारीरहने छ ।
यस्तो मानवीय समवेदना र जाजरकोटीहरूको पीडाकाबीचमा पनि नेपाली कांग्रेसले घटनाको राजनीतिकरण गर्न, परिस्थितिलाई थप उत्तेजित पार्न कोशिस गरिहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ।
म यस कार्यको निन्दा गर्द छु । अमुक नेताहरूविरुद्ध नारावाजी गर्ने, पुत्ला दहन गर्ने जस्ता कार्यले घटनालाई अन्यत्रै मोड्न सक्ने तर्फ हामी सचेत र गम्भीर छौँ। कसैले पनि मानवीय समवेदना भुलेर धमिलो पानीमा माछा मार्ने कोशिस नगर्न, घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कारबाही र पीडितको न्याय पाउने कुरामा सहयोग गर्न सबैमा अनुरोध छ । तपाईं–हाम्रो साझा प्रयत्न, साझा दबाबले पीडितले न्याय पाउनेछन् र अपराधीहरूले सजाय पाउने छन् भन्ने विश्वास व्यक्त गर्दछु ।
















































। १९ जेष्ठ २०७७, सोमबार