गाउँलेको लखेटाईबाट भाग्दैगर्दा भेरी नदीमा डुबेर एक जनाको मृत्यु, ६ जना बेपत्ता

जाजरकाेट – गाउँलेहरुको लखेटाईबाट भाग्दै गर्दा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको भेरी नदीमा डुबेर मृत्यु भएको छ भने, ६ जना बेपत्ता भएका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको लखेटाईबाट भाग्दैगर्दा बिकको भेरी नदीमा डुबेर मृत्यु भएको हो । विकसंगै भागेका ६ जना युवाहरु अझैसम्म सम्पर्कमा आउन नसकेको प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

मृतक विकसंगै गएका अन्य १२ जना युवालाई भने चौरजहारी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए । रानागाउँका नवराज विक र सोतीकी शुष्मा मल्ल बीचमा लामो समयदेखि प्रेम सम्बन्ध रहदै आएको बुझिएको छ ।

उनीहरु बीचको अन्तरजातिय प्रेम सम्बन्धलाई शुष्माका आमा–बुवालाई पहिले नै थाहा भएको पत्ता लागेको छ । आफुहरु बीचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न शुष्माकै आग्रहमा नवराजले १९ जना युवा लिएर जाजरकोटको खलंगाबाट सनिबार सोती पुगेको बुझिएको छ ।

शुष्मालाई भगाउन केटाहरु सोती पुगेको आमा–बुवालाई जानकारी भएपछि गाउँलेहरुको सहयोगमा जाजरकोटका केटाहरुलाई कुटपिट गर्नुको साथै चौरजहारी प्रहरीलाई खबर गरेर १२ जना युवालाई प्रक्राउ गराईएको थियो भने, भाग्न सफल ७ जना युवाहरुमध्ये नवराज विक भेरी नदीमा डुबेर मृत अबस्थामा धल्ला पुल नजिकै फेला परेका थिए ।

हिजो बेलुका ६–७ बजेतिर मृत अबस्थामा फेला परेका नबराजको लास अहिले मात्र प्रहरीले नदीबाट बाहिर निकालेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । अहिलेसम्म सम्पर्कमा नआएका अन्य ६ जना युवाहरुको खोजी कार्य भईरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । चौरजहारी प्रहरी नियन्त्रणमा रहेका १२ जना युवालाई आबश्यक सोधपुच्छ पछि उनीहरुलाई घर पठाईने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया