
जाजरकाेट–बिबाहको बिषयलाई लिएर माईती पक्षको कुटपिट पछिको लखेटाईबाट भेरीनदीमा डुबेर मृत्यु भएका भेरी नगरपालिका–४ का नबराज विकका आफन्तहरुले सोमबार दिउसो जिल्ला प्रहरी कार्यालय, जाजरकोट अगाडी नाराबाजी गरेका छन् । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कुनै प्रबाह नगरी पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका हुन् ।
घटनाको निष्पक्ष छानविन गर्नुपर्ने, दोषीलाई कानुन बमोजिमको सजाय हुनुपर्ने, बेपत्ताहरुको छिटो खोजीकार्य गर्नुपर्ने, जातिय छुवाछुत तथा विभेदको अन्त्य गनुपर्ने जस्ता मागहरु राखेर पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका थिए । घटनाको निष्पक्ष छानविन गरी घटनाका दोषीलाई कारबाही गर्न सरकारले जिम्मा लिनुपर्ने बताउदै संघ र प्रदेश सरकारका मन्त्री तथा जिम्मेवार व्यक्तिले घटना छानविनको जिम्मेवारी नलिदासम्म मृतकका आफन्तले लास जिम्मा नलिने उनीहरुले माग राखेका छन् ।
२१ औ शताव्दीमा जातियताको बिषयलाई लिएर कुटपिटपछिको लखेटाईले भएको भागदौडबाट भेरी नदीमा डुबेर मृत्यु भएका नबराज बिक, टीकाराम बिक जस्तै भेरी नगरपालिका–४ का गणेश बुढा मगरको पनि मृत्यु भएको पुष्टी भएको छ । बुढाको लास सोमबार फेराखोला नजिक भेरीनदी किनारमा फेला परेको थियो । गणेशको लास फेला परेपछि मृत्यु हुनेहरुको संख्या तीन पुगेको जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले दिएको जानकारी अनुसार भेरी नगरपालिका–४ का सुरज विक, ११ का लोकेन्द्र सुनार र गोविन्द शाहीको अबस्था भने, अहिलेसम्म पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीले उनीहरुको खोजीकार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाअध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्ल, सुष्माका बुवा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, छिमेकी डिल्ली मल्ल, मोहन पुन लगाएतका १२ जनालाई प्रहरीले पक्राउगरी जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमलाई बुझाई सकेको ईलाका प्रहरी कार्यालय चौरवहारीका ईन्चार्ज प्रहरी निरिक्षक धर्मसिंह बिष्ठले जानकारी दिएका छन् ।
बिष्ठले दिएको जानकारी अनुसार पक्राउ परेका १२ जनालाई सोमबारनै जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमलाई बुझाईएको हो । अत्यन्तै दुखद, अमानविय, बर्बरतापूर्ण घटना भएको बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले संघ, प्रदेश र स्थानीय सरकार, आफुसंलग्न रहेको राजनैतिक (नेकपा) पार्टीका तर्फबाट यस घटनाको सत्यतथ्य छानविन गर्नुको साथै पिडित पक्षलाई राजनैतिक, सामाजिक र कानुनी न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार नबराज बुवा मुनलाल बिक र आमा उर्मिला विकलाई भेट्न घरमै पुगेका नगरप्रमुख घर्तीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
















































। १२ जेष्ठ २०७७, सोमबार