जाजरकोट — जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट सडक सञ्जालसँग जोडिएको छ । चैत अन्तिम साता बारेकोटको प्रशासनिक केन्द्र लिम्सासम्म सडकको ट्रयाक खोलिएको थियो ।
लकडाउन खुलेपछि औपचारिक रुपमा सडकमा यातायात सेवा सुरु गर्ने गाउँपालिकाको तयारी छ । लिम्सामा सडक यातायातको सुविधा पुगेपछि स्थानीयवासीलाई सदरमुकाम खलंगा आउन २/३ दिन हिँड्नुपर्ने बाध्यता टरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनका अनुसार सडक सुविधाले बारेकोटवासीको नुन, चामललगायत खाद्यान्न र दैनिक उपभोग्य सामग्री थाप्लोमा बोक्नुपर्ने बाध्यता टरेको छ ।
सदरमुकाम खलंगादेखि ७० किलोमिटर दुरीमा ट्रयाक खुलेपछि लिम्सासम्म जिप, मोटरसाइकललगायत हलुका सवारी साधन गुड्न थालेका छन् । बारेकोट सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सातवटै पालिकाको प्रशासनिक केन्द्र र ७० प्रतिशत वडा केन्द्रमा यातायातको सुविधा पुगेको छ । वैशाखदेखि बारेकोटका १, २, ७, ८ र ९ नम्बर वडा केन्द्र पनि सडक सञ्जालसँग जोडिएका छन् ।
गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा सडक निर्माणका लागि ३ करोड बजेटमा १४ किलोमिटर सडक निर्माण गरेको छ । नलगाड जलविद्युत कम्पनीले गत आर्थिक वर्षमा नलगाड नगरपालिकाको कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटर सडक निर्माण गरेपछि लिम्सासम्म सडक पुर्याउन सजिलो भएको हो ।
सडकले वर्षौंदेखिको सास्ती हटाएको बारेकोट–२ का विष्णु पुनले बताए । ‘घोडा–खच्चडको भरमा दैनिक उपभोग्य सामान ढुवानी गरिरहेका थियौं,’ उनले भने, ‘यातायातको सुविधा नहुँदा बिरामीले उपचार नपाएर बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो ।’ उनका अनुसार विगतमा दुई दिन लगाएर खलंगा जानुपर्ने बाध्यता थियो । सडक सुविधापछि सदरमुकामसम्मको दुरी ६ घण्टामा छोटिएको छ । स्थानीय कमल विकले बाह्रै महिना गाडी चल्ने गरी सडकको स्तरोन्नति गर्न माग गरे ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा चार सडक निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्षदेखि गाउँपालिका र केन्द्र सरकारको सहकार्यमा आठ करोड बजेटमा सिर्के –लिम्सा सडकको स्तरोन्नति सुरु हुने अध्यक्ष शाहले बताए ।
खलंगादेखि नलगाडको कालीमाटीसम्म ३५ किलोमिटर दुरी जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्छ । कालीमाटीदेखि सिर्केसम्मको २२ किलोमिटरमा नलगाड जलविद्युत कम्पनीको पहुँचमार्ग जोडिएको छ । ‘जुम्लासँग सडक जोड्नका लागि काम तीव्र बनाइएको छ,’ उनले भने, ‘सडक जोडिएसँगै बारेकोटको बहुमूल्य जडिबुटीले बजार पाउने आशा छ ।’ कोरोना भाइरसको संक्रमणको त्रासका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन नसकिएको उनले गुनासो गरे ।
















































। ४ जेष्ठ २०७७, आईतवार