मुगुका कृषकलाई स्याउका बोट काँटछाँटको चटारो

मुगु : हिमाली जिल्ला मुगुमा कृषकलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ। हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फुल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन्। हिउँदको बेला अर्थात् पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्य देखिएका हाँगाविगा काट्नु पर्ने भएकाले किसान स्याउका बोटबिरूवाको काँटछाँटको चटारो देखिन्छन्।

स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने, बढी फलेर साना दाना लाग्‍ने, लाइ किरा, धमिराजस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोपसमेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैँचामा रहेको बोटबिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञहरू बताउँछन। विगतकका वर्षमा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकहरूको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनि यो वर्ष प्राविधिक खटाएइएको छैन।

किसानले आफैँ प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाँट गर्ने गरेका जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ। ‘विगतमा स्याउ काँटछाट लगायत अन्य काम गर्न बजेट आउनेर काम गर्न पनि सजिलो हुन्थ्यो। संघीय संरचनासँगै काम गर्ने शैली फेरिएको छ। किसानहरूको हितमा काम गर्न सकेका छैनौँ’ जिल्ला कृषि बिकास कार्यलय मुगुका प्रमुख केवि रोकायाले भने ‘किसानहरूको हितमा काम गर्ने कृषि कार्यालयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र जिल्ला कृषि विकास कार्यालयबाट किसानहरूले पाउने बिउँविजन र औषधि पनि संघीय संरचनापछि पाउन छाडेका छन्।

अहिले समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभर स्याउको उत्पादन १५ मेट्रिक टन भएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ३५ मेट्रिक टन स्याउ मात्र उत्पादन भएको थियो। यो वर्ष पनि समयमै हिमपात भएको छ। स्याउ फूल फुलेर दाना लाग्ने बेला असिना पानी नपरे यो वर्ष पनि स्याउको उत्पादन राम्रै हुने जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ। मुगु जिल्लाका स्याउ पकेट क्षेत्र जिल्लाका ताल्चा, बाम, रोवा, खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिएको छ।

तपाईको प्रतिक्रिया