जाजरकोटमा संयुक्त बजार अनुगमन

जाजरकाेट । सरकारले सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अभियान अन्तर्गत उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा खलंगा बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ।

अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथा उपभोक्ता अधिकार संरक्षण मञ्चका प्रतिनिधिहरूको उपस्थितिमा बजार अनुगमन गरिएको हो।

टोलीले दैनिक उपभोग्य वस्तुको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, तौल तथा नाप, पसल दर्ता तथा उपभोक्ता हित सम्बन्धी मापदण्डको निरीक्षण गरेको जनाएको छ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, गुणस्तरीय सामग्री बिक्री वितरण गर्न तथा उपभोक्तामैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको थियो।

उपभोक्ताको अधिकार संरक्षण तथा बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया