आफ्नै देशभित्र “परदेशी” बनेका स्थानीय तहका कर्मचारीको पीडा

अछाममा कार्यरत स्थानीय तहकी अ.न.मि चौथो तहकी कर्मचारी गृष्मा घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एउटा मार्मिक सन्देशले यतिबेला धेरै कर्मचारीको वास्तविक पीडा उजागर गरेको छ।

उनले “सरकारी जागिर” भन्ने शब्दभित्र लुकेको एक्लोपन, असुरक्षा, परिवारबाटको दूरी र मानसिक पीडालाई अत्यन्त भावुक ढंगले प्रस्तुत गरेकी छन्। बाहिरबाट हेर्दा सरकारी जागिर सहज र सुरक्षित देखिए पनि भित्रभित्रै हजारौँ कर्मचारीले आफ्नै देशभित्र “परदेशी” भएर बाँच्नुपरेको यथार्थ उनले लेखेकी छन्।

गृष्माले आफ्नो घर पुग्न दुई दिन लाग्ने बताउँदै त्यो दूरी केवल बाटोको मात्र नभई परिवार, आमा–बुबा र श्रीमान्सँगको भावनात्मक दूरी भएको उल्लेख गरेकी छन्। विकट क्षेत्रमा पुग्नुपर्ने बाध्यता, जोखिमपूर्ण यात्रा, पहिरो, ढुंगा झर्ने सडक र अनिश्चित यात्राले कहिलेकाहीँ आफूलाई नै डर लाग्ने गरेको उनले व्यक्त गरेकी छन्।

“कतै म पनि एकदिन यही बाटोबाट कफिनमा फर्किने त होइन?” भन्ने सोचले रातभर निद्रा नलाग्ने अवस्थासमेत आउने उनको भनाइ छ। यस्तो अवस्थामा आमाले फोनमा भन्ने “सावधानी अपनाएर बस्नु है” भन्ने शब्द केवल सल्लाह नभई एउटी आमाको डर भएको उनले उल्लेख गरेकी छन्।

उनले राज्यलाई आग्रह गर्दै संघीय सरकारले ल्याउन लागेको नयाँ निजामती ऐनमा स्थानीय तहका कर्मचारीहरूको पीडा पनि समेटिनुपर्ने बताएकी छन्। विशेषगरी सरुवा प्रणाली स्वचालित, पारदर्शी र अन्तरप्रदेशीय बनाउन सके हजारौँ कर्मचारी आफ्ना परिवारसँग बस्न पाउने उनको विश्वास छ।

https://www.facebook.com/share/p/1LhpkG3LaG/

“हामीले पहुँच खोजेका होइनौँ, शक्ति खोजेका होइनौँ, केवल आफ्नो घरको आँगन खोजेका हौँ,” भन्दै उनले आफ्ना बा–आमा, श्रीमान् र सन्तानसँग नजिक भएर बाँच्न पाउने सामान्य अधिकारको माग गरेकी छन्।

 

उनको सन्देशमा स्थानीय तहका कर्मचारी केवल एउटा दरबन्दी नभई कसैको सपना, कसैको संसार भएको भावनात्मक सन्देश पनि समेटिएको छ। देशमै बसेर सेवा गर्न चाहने कर्मचारीहरू आफ्नै परिवारबाट टाढा भएर बाँच्न बाध्य हुनु अत्यन्त पीडादायी रहेको उनले उल्लेख गरेकी छन्।

गृष्मा घर्ती मगरको यो भावुक अभिव्यक्तिले विकट क्षेत्रमा कार्यरत हजारौँ स्थानीय तहका कर्मचारीको साझा पीडालाई उजागर गरेको छ। साथै, राज्यले कर्मचारीलाई केवल प्रशासनिक जनशक्तिको रूपमा होइन, संवेदनासहितको मानिसको रूपमा बुझ्नुपर्ने आवश्यकता पनि पुनः स्मरण गराएको छ।

तपाईको प्रतिक्रिया