नलगाडबाट आएका राजनीतिक दलले भूकम्पपीडितका मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाए

जाजरकोट । नलगाड नगरपालिकाबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिले भूकम्पपीडित नागरिकका समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

२०८० कात्तिक १७ गते बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि नलगाड नगरपालिकाका नागरिक अझै अस्थायी टहरामै कष्टकर जीवन बिताइरहेको भन्दै उनीहरूले तत्काल पुनर्निर्माण प्रक्रिया अघि बढाउन माग गरेका हुन्।

राजनीतिक दलका प्रतिनिधिहरूले हालसम्म धेरै लाभग्राहीले पहिलो र दोस्रो किस्ता नपाएको, केही घरधुरीले कुनै किस्ता नै नपाएको तथा पुनर्निर्माण कार्यले अपेक्षित गति लिन नसकेको गुनासो गरेका छन्।

ध्यानाकर्षण पत्रमार्फत जग्गा नामसारीका कारण अनुदानबाट वञ्चित पीडितलाई वडा र पालिकाको सिफारिसमा राहत उपलब्ध गराउनुपर्ने, छुटेका घरधुरीको विस्तृत क्षति आकलन गर्नुपर्ने, पहिलो तथा दोस्रो किस्ता रकम तत्काल वितरण गर्नुपर्ने र पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग राखिएको छ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत प्रतिनिधिहरूले दिएका छन्।

नेपाली कम्यूनिष्ट पार्टीका नेता प्रचण्ड वलीले भूकम्पपीडित नागरिकका समस्या समाधानमा राज्य गम्भीर बन्नुपर्ने भन्दै प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया