
जाजरकाेट । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जाजरकोटको राजनीतिक माहोल तातिएको छ। यही बीच शक्ति बहादुर बस्नेत ले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्नो प्रारम्भिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी का तर्फबाट उम्मेदवारी दिएका पूर्व मन्त्री बस्नेतले भूकम्पपछिको पुनर्निर्माणदेखि ऊर्जा, पूर्वाधार र डिजिटल रूपान्तरणसम्मका महत्वाकांक्षी योजना अघि सारेका छन्।
पुनर्निर्माण पहिलो प्राथमिकता
२०८० सालको भूकम्पले जाजरकोटमा गहिरो क्षति पुर्याएको थियो। त्यसैलाई ध्यानमा राख्दै बस्नेतले प्रत्येक प्रभावित परिवारलाई स्थायी आवास निर्माणका लागि कम्तीमा ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेका छन्।
उनका मुख्य बुँदा:
पहिलो किस्तामै १ लाख ५० हजार रुपैयाँ वितरण
झन्झटिलो क्षति मूल्यांकन प्रक्रिया सरलीकरण
निजी आवास प्रवलीकरण तथा पुनःस्थापना कार्यविधि संशोधन
बस्नेतको भनाइ छ— “पीडितलाई राहत होइन, सुरक्षित भविष्य चाहिएको छ।”
गरिबी निवारणमा विशेष बहुपक्षीय कार्यक्रम
गरिब घरधुरीको प्रतिशत उच्च रहेको जुनीचाँदे गाउँपालिका सहित समग्र जाजरकोटमा विशेष एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
स्थानीय, प्रदेश र संघीय सरकारसँगै विकास साझेदार र मित्रराष्ट्रहरूको सहकार्यमा गरिबी निवारण, रोजगारी सिर्जना र आयआर्जनका कार्यक्रम अघि बढाइने बताइएको छ।
सडक र पूर्वाधारमा आक्रामक विस्तार
पूर्वाधार विकासलाई आर्थिक समृद्धिको मेरुदण्ड मान्दै बस्नेतले:
लुम्बिनी–रारा राजमार्ग अन्तर्गत जाजरकोट खण्डको बाँकी ट्र्याक खोल्ने र कालोपत्रे गर्ने
स्थानीय तह केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने
सबै वडा केन्द्रसम्म सडक स्तरोन्नति
जाजरकोट–खलंगा–मछाइना–ढुंगेला सडक सुधार
पाँचकाटिया–नेटालेक–बारेकोट–जुम्ला सडक स्तरोन्नति
जस्ता योजना अघि सारेका छन्।
५ वर्षभित्र सबै खेतमा सिँचाइ
कृषि उत्पादन वृद्धिका लागि पाँच वर्षभित्र जिल्लाका सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने घोषणा गरिएको छ।
निर्माणाधीन सिँचाइ आयोजना सम्पन्न गर्ने र लिफ्ट तथा थोपा सिँचाइ प्रणाली विस्तार गर्ने योजना पनि समेटिएको छ।
ऊर्जा क्षेत्रमा ठूला योजना
ऊर्जा विकासलाई प्राथमिकतामा राख्दै बस्नेतले:
४१७ मेगावाटको नलगाड जलविद्युत आयोजना निर्माण अघि बढाउने
९८ मेगावाट डाँडागाउँ–भेरी आयोजना सुरु गर्ने
१२० मेगावाट जगदुल्ला ए आयोजना शीघ्र सम्पन्न गर्ने
७ मेगावाट ताक्सुगाड आयोजना पूरा गर्ने
दानीपिपल–मैनतडा ४०० केभी प्रशारण लाइन एक वर्षभित्र सम्पन्न गर्ने
लक्ष्य सार्वजनिक गरेका छन्।
डिजिटल जाजरकोट र सुशासन
“जाजरकोटी अभिमत र शहीदका आकांक्षाको सम्मान: समृद्धिका लागि सामाजिक न्याय र सुशासन” नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा:
जिम्मेवार मिडियाको विकास
सबै स्थानीय तहमा अप्टिकल फाइबर विस्तार
आईटी पार्क स्थापना
जस्ता योजना उल्लेख गरिएका छन्।
प्रतिबद्धता पत्र तयारीमा समानुपातिक उम्मेदवार कृष्णबहादुर बुढा र पार्वती वि.क. समेत सहभागी रहेका छन्।
अब फागुन २१ को निर्वाचनले बस्नेतको विकास एजेन्डालाई जनमतले कत्तिको अनुमोदन गर्छ— त्यो हेर्न बाँकी छ। तर भूकम्पपछिको पुनर्निर्माण र दीर्घकालीन समृद्धिको वाचा लिएर जाजरकोटमा चुनावी प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको छ।
















































हाम्रो पहुँच संवाददाता । १७ फाल्गुन २०८२, आईतवार