शक्तिको किल्लामै युवा आक्रमण, खड्क विसीको उम्मेदवारी—प्रतिस्पर्धा कि पुस्तान्तरण?

जाजरकोटमा खड्क विसीको उम्मेदवारी—प्रतिस्पर्धा कि पुस्तान्तरण?


जाजरकोट । जाजरकोटको चुनावी राजनीति यसपटक सामान्य प्रतिस्पर्धा होइन—यो शक्ति र पुस्ताको लडाइँ हो ।

दशकौंदेखि स्थापित नेताहरूको प्रभाव जमेको प्रतिनिधि सभा निर्वाचनमा खडक बहादुर बुढा (खड्क विसी) ले सिधै प्रश्न गरेका छन्—जाजरकोट अब पनि पुरानै अनुहारको भरोसामा अघि बढ्छ कि नयाँ पुस्तालाई जिम्मा दिन्छ?

नेपाल विद्यार्थी संघबाट राजनीति थालेका बुढा आज नेपाली काँग्रेस जाजरकोटका उपसभापति हुन् । काँग्रेसले इतिहासमै पहिलो पटक जाजरकोटबाट प्रतिनिधि सभाका लागि युवा नेता लाई उम्मेदवार बनाउँदा, चुनाव स्वतः नै बहसको केन्द्रमा पुगेको छ ।

हेभीवेटको छायामा उभिएको युवा चुनौती
शक्ति बहादुर बस्नेत र डम्बरबहादुर सिंहजस्ता ठूला नामहरू बीचको प्रतिस्पर्धामा बुढाको उम्मेदवारीलाई धेरैले ‘जोखिमपूर्ण साहस’ मानेका थिए । तर घरदैलो अभियानसँगै दृश्य फेरिँदै गएको छ ।

कार्यक्रम, अन्तरक्रिया, सामाजिक भेटघाट—बुढा जहाँ पुगेका छन्, त्यहाँ युवा र पहिलोपटक मतदाताको उल्लेख्य उपस्थिति देखिन थालेको छ ।

नेविसंघको कक्षाबाट संसदको सपना

२०६४ सालमा भेरी ज्ञानोदय बहुमुखी क्याम्पसको स्ववियू सभापति बनेका बुढा विद्यार्थी राजनीतिबाटै हुर्किएका नेता हुन् । उनी आफूलाई भाषणभन्दा संवादमा विश्वास गर्ने नेता मान्छन् ।

“हिजो, आज र भोलिको जाजरकोटको रोडम्याप मेरो उम्मेदवारी हो,” बुढा भन्छन्, “जिल्लाका मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने स्पष्ट एजेन्डा बिना राजनीति अर्थहीन हुन्छ।”

सुशासन, सेवा र रोजगारीको एजेन्डा

खड्क विसीको मुख्य एजेन्डा सुशासन, शिक्षा सुधार, सेवा प्रवाह र युवालाई जिल्लामै अवसर हो ।
उनको दाबी छ—जाजरकोटको समस्या योजना अभावले होइन, राजनीतिक इच्छाशक्ति र जवाफदेहिताको कमीले बढेको हो ।

भत्किन्छ कि टिक्छ शक्तिको किल्ला?

यद्यपि, जाजरकोटको चुनावी यथार्थ कठोर छ । शक्ति बस्नेतको पुरानो संगठन, प्रभावशाली नेटवर्क र स्थायी मताधार अझै बलियो मानिन्छ ।
तर बदलिँदो मतदाता मनोविज्ञान, युवाको असन्तुष्टि र नयाँ नेतृत्वको खोजी ले यो निर्वाचनलाई अप्रत्याशित बनाएको छ ।

निर्णय पुस्ताको हुनेछ

खड्क विसीको उम्मेदवारी जित–हारको सवाल मात्रै होइन । यो जाजरकोटको राजनीतिक दिशा तय गर्ने चुनाव हो ।
स्थापित शक्तिलाई निरन्तरता दिने कि पुस्तान्तरणको बाटो खोल्ने—अब यसको फैसला मतपेटिकाले गर्नेछ ।

भिडियाे हेर्नुहाेस्

तपाईको प्रतिक्रिया