महिलाको सीप प्रवर्द्धन र रोजगारी सिर्जना गर्न भेरी नगरपालिकाले दियाे पञ्चेवाजा

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय मौलिक संस्कृति संरक्षण गर्दै महिलाको सीप प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पञ्चेवाजा वितरण गरेको छ । नगरपालिकाले जाजरकोटस्थित मौलिक महिला पञ्चेवाजा संरक्षण समूहलाई पञ्चेवाजा सेट हस्तान्तरण गरेको हो ।

नगर उपप्रमुख सीता जैसीको विशेष पहलमा पञ्चेवाजा वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै उपप्रमुख जैसीले महिलाहरूमा रहेको मौलिक सीपलाई थप प्रोत्साहन गर्दै त्यसलाई आयआर्जनसँग जोड्ने लक्ष्य रहेको बताइन् । “महिलाले सिकेको सीपलाई व्यावसायिक बनाउन सकियो भने आत्मनिर्भरता बढ्छ र रोजगारी सिर्जनामा सहयोग पुग्छ,” उनले भनिन् ।

पञ्चेवाजा प्राप्त गरेपछि महिलाहरू खुसी देखिएका छन् ।  उनीहरूले नगरपालिकाप्रति आभार व्यक्त गर्दै अब आफ्ना सीपलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय तारा विकले आफूहरूले सिकेको पञ्चेवाजा बजाउने सीपलाई अब पेशागत रूपमा प्रयोग गर्न वाजाले ठूलो टेवा दिने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, स्टोर शाखा प्रमुख सनत दवाडी, रोजगार शाखा प्रमुख भरत शर्मालगायतको उपस्थिति रहेको थियो ।

भेरी नगरपालिकाको यस पहलले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय मौलिक संस्कृति संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया