जाजरकोट । आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले जाजरकोटमा डम्बर बहादुर सिंहलाई उम्मेदवारका रूपमा टिकट दिएपछि जिल्लाको राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।
टिकट वितरणको प्रक्रियामा निरज आचार्यले टिकट पाउने अपेक्षा धेरै कार्यकर्ता र शुभेच्छुकहरूमा रहे पनि अन्ततः पार्टी केन्द्रको निर्णयअनुसार उनलाई टिकट प्राप्त भएन।
टिकट नपाएपछि निरज आचार्यले एक मार्मिक तथा सन्देशमूलक पत्र सार्वजनिक गर्दै पार्टीको निर्णयलाई आधिकारिक र अन्तिम मानेर स्वीकार गरेको स्पष्ट पारेका छन्।
उनले पत्रमार्फत आफूलाई आएको निरन्तर फोन, चिन्ता र साथप्रति आभार व्यक्त गर्दै पार्टी निर्णयमाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्।
पत्रमा आचार्यले संघर्ष, त्याग र निरन्तर यात्राको प्रतीकात्मक भाषामा आफ्नो राजनीतिक यात्रालाई प्रस्तुत गरेका छन्। “हामी तरबारको धारमा हिँड्यौँ, काँडा बिझे तर ढलेनौँ, आज पनि अडिग छौँ,” भन्दै उनले आफू कमजोरी होइन, संघर्षको प्रमाण बनेर उभिएको उल्लेख गरेका छन्।
टिकट नपाउँदा पनि आन्दोलन र यात्रालाई रोक्न नसकेको उनको भनाइ छ। उनले जाजरकोट जनताको आशा र भरोसा कहिल्यै नटुट्ने स्पष्ट पार्दै जाजरकोटको विकास र समृद्धिका लागि आफ्नो साथ सधैँ रहने प्रतिबद्धता जनाएका छन्।
साथै, अहिले हार–जीतको बहस होइन, निरन्तर यात्राको पक्षमा उभिनुपर्ने समय भएको उल्लेख गरेका छन्।
आचार्यले फाल्गुन २१ पछि समिक्षा गरिने बताउँदै हालको समय निर्वाचनको भएकोले एकता, आस्था र लक्ष्यका साथ अघि बढ्न सबैलाई अपिल गरेका छन्। उनको यो सन्देशलाई धेरैले परिपक्व, अनुशासित र पार्टी–केन्द्रित राजनीतिक दृष्टिकोणको रूपमा लिएका छन्।
एमाले जाजरकोटको आन्तरिक राजनीतिमा यो घटनाले भावनात्मक तर सन्तुलित बहस सिर्जना गरेको छ भने निरज आचार्यको अभिव्यक्तिले कार्यकर्ता पंक्तिमा एकताको सन्देश दिएको विश्लेषण गरिएको छ।
आचार्यको सचिवालय स्रोतका आधारमा समाचार निर्माण गरेका छौँ ।
















































हाम्रो पहुँच संवाददाता । ५ माघ २०८२, आईतवार