जाजरकोटमा मागियो ९८२ जना निर्वाचन प्रहरी

माग गरिएका निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरी अन्तर्गत ८८६ जना र सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत ९६ जना रहेका छन् । निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।


जाजरकोट — आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै जाजरकोट जिल्लामा ९८२ जना निर्वाचन प्रहरी माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार निर्वाचनको शान्ति–सुरक्षा व्यवस्थापनका लागि आवश्यक संख्यामा निर्वाचन प्रहरी माग गरिएको हो ।

माग गरिएका निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरी अन्तर्गत ८८६ जना र सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत ९६ जना रहेका छन् । निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर खड्काले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, निर्वाचन निकाय तथा सुरक्षा निकायबीच आवश्यक समन्वय गरिएको छ ।

निर्वाचन प्रहरीका लागि दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय जाजरकोट अन्तर्गतको भर्ना÷निर्वाचन सेल बाट प्राप्त गर्न सकिनेछ । इच्छुक उम्मेदवारहरूले तोकिएको मिति भित्र स्वयम् उपस्थित भई फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ । शसस्त्र प्रहरी बल जाजरकोट गुल्ममा पनि भर्ना सुरु गरिने छ ।

दरखास्त फाराम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, आवश्यक शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । फाराम स्वीकृत भएपछि उम्मेदवारहरूलाई निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारीअनुसार परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउन सर्वसाधारण, राजनीतिक दल तथा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया