विशेष सम्पादकीय : “१६ दिने अभियान होइन, ३६५ दिनको प्रतिबद्धता चाहिन्छ”

May be an image of text that says '"UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS" S" भन्ने अन्तराष्ट्रिय" "प्रविधीको सही प्रयोग गरौं: लैड्लिक हिसा अन्त्य गरा" भन्ने राष्ट्रिय नाराका साथ लैड्िक हिंसा विरुबको १६ दिने अभियानका अवसरमा आयोजित लैड्िक हिंसाका कारण महिला माथि परेको असर तथा प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता कारक्रम मिति :-၃၀၃ मंसिर 9t गते सककाय साताि ज्यानया NROE आयोजक बीशरववलिकन अरपय 海出家'
लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान नेपालमा पनि धुमधामले मनाइँदैछ । तर पछिल्लो केही वर्षयता देखिएको प्रवृत्ति के हो भने—यो अभियान धेरैजसो औपचारिक कार्यक्रम, गोष्ठी र कागजी प्रतिवद्धतामै सीमित हुन्छ । महिला हिंसा, लैंगिक भेदभाव, श्रम शोषण जस्ता संवेदनशील विषय ठूला भाषणका बिषय बन्छन्, तर प्रभावकारी परिवर्तनका स्वरुप उभिन सक्दैनन् ।
भेरी नगरपालिका लगायत जिल्लाभरका स्थानीय तहहरूले महिलाको अवस्था सुधार र लैंगिक समानताको लक्ष्य राखेर वर्षेनी लाखौँ रूपैयाँ बजेट छुट्याउँछन् । तर विडम्बना, तीमध्ये ठूलो हिस्सा औपचारिक कार्यक्रम, ब्यानर, टी–शर्ट, भाडाका हलहरू र कागजी छलफलमै सकिन्छ । जति बसेर बोलेका छन्, त्यति व्यवहारमा रूपान्तरण देखिँदैन । १६ दिनकै अभियानलाई वर्षभरको प्रतिवद्धता जस्तो नलिइदिँदा परिणाम पनि अल्पकालीन, सतही र प्रदर्शनमुखी बन्न पुगेका छन् ।

May be an image of one or more people and violin

महिला हिंसा र लैंगिक असमानता कुनै १६ दिनले मात्रै समाधान गर्ने समस्या होइन । यी सामाजिक संरचना, मानसिकता, आर्थिक अवस्था र सदियौँबाट बनेका गलत परम्परासँग गहिरोसँग जोडिएका विषय हुन् । त्यसैले समाधान पनि निरन्तर, योजनाबद्ध र दीर्घकालीन हस्तक्षेपबाट मात्र सम्भव छ । भेरी नगरपालिका, सामाजिक विकास कार्यालयले महिलामैत्री नीति भन्दै खर्च गर्ने रकम औपचारिक कार्यक्रमभन्दा महिलाको क्षमता विकास, सीपमूलक तालिम, उद्यमशिलता प्रोत्साहन र सुरक्षित वातावरण निर्माणमा लगानी गर्न अत्यावश्यक छ ।

जनचेतना अभिवृद्धिका नाममा हरेक वर्ष दोहोरिने ‘गोष्ठी–कार्यक्रम’ले महिलाको दैनिक जीवनमा कत्तिको परिवर्तन ल्याएको छ ? हिंसा पीडित महिलाहरू दर्ता–उपचार–न्याय पाउन कत्तिको सहज भएको छ ? स्थानीय तहहरूले हिंसा निरोधका लागि सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, कानुनी सहायता र आर्थिक पुनःस्थापनाका कार्यक्रम कत्तिको विस्तार गरेका छन् ? यी प्रश्नहरूको उत्तर अझै कमजोर छ ।

May be an image of one or more people, people studying and text

जिल्लाका अन्य स्थानीय तहहरूको अवस्था समेत उस्तै छ — दिवसमा भाषण, उत्साह र ब्यानर; वर्षभर महिलाको मुद्दा ओझेल ? यो परिपाठी अब अन्त्य हुनैपर्छ । लैंगिक समानता केवल दिवसहरूमा उठाइने विषय होइन, विकासको आधारभूत सूचक हो । स्थानीय सरकार महिलाको सुरक्षा, सहभागिता र आर्थिक सशक्तीकरणमा लगानी नगरीकन सामाजिक न्याय र समानताको सपना पूरा हुन सक्दैन ।

दिवसलाई प्रभावकारी बनाउन कर्मसँग जोडिएको प्रतिवद्धता, महिलाको वास्तविक समस्या बुझेको दीर्घकालीन योजना,सिप, रोजगारी र आत्मनिर्भरतामा प्राथमिकता,हिंसा पीडितलाई तत्काल र संरचित सहयोग प्रणाली, पुरुष तथा समुदायलाई समेट्ने व्यवहार परिवर्तन कार्यक्रम आदि गर्न जरुरी छ ।

लैंगिक समानता कागजको प्रतिबद्धताले होइन, व्यवहार परिवर्तनले सम्भव हुन्छ । त्यसैले १६ दिनको अभियानलाई मात्र उत्सवजस्तो मनाउनु र ३४९ दिन मौन बस्ने परिपाठी अब त्याग्नैपर्छ । महिलामाथि हुने हिंसा शून्यमा झार्न आज होइन, हरेक दिन प्रतिवद्धता चाहिन्छ— ३६५ दिनको अभियान ।

May be an image of one or more people, motorcycle, scooter, street and text

तपाईको प्रतिक्रिया