जेनजी पुस्ताले उठाएको आन्दोलनले आज मुलुकलाई नयाँ माेडमा ल्याएकाे छ। सडकमा उम्किएको भीड मात्र होइन, यो पुस्ताको आक्रोश हो—भोलिको नेपाललाई अस्थिरताको दलदलबाट मुक्त गराउने दृढ संकल्प। वर्षौंदेखि दलहरूको अवसरवादी राजनीति, कुर्सी र मन्त्रीको गणितमा सीमित सत्ता–सञ्चालन, र भ्रष्टाचारको दुष्चक्रले मुलुकलाई थला पार्यो। विद्यालयमा पढ्ने बालबालिका, गाउँमा बस्ने किसानदेखि शहरका युवा सबैमा एउटै पीडा छ—यो व्यवस्था अब चल्दैन।

अहिलेको संसदीय अभ्यासले नेपाललाई न स्थिरता दिन सक्यो, न सुशासन। गठबन्धन सरकारहरू असारको भेलझैँ बनेर भोलिपल्टै हराउने गरे। संसद् कुर्सी र पदको सौदाबजारमा परिणत भयो। जनताको विश्वास खस्दै गयो। यस्तो परिस्थितिमा नयाँ पुस्ता सडकमा ओर्लनु स्वाभाविकै हो।
तर आन्दोलनको उर्जा केवल नारामा सीमित हुनु हुँदैन। अब आवश्यक छ—देशलाई दीर्घकालीन स्थिरता दिने व्यवस्था। त्यसको विकल्प के ?
उत्तर छ—प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले ल्याउनेछ—
-
पाँच वर्षसम्म स्थिर नेतृत्व, जसलाई बारम्बार ढाल्न सकिँदैन।
-
नागरिकप्रति प्रत्यक्ष जवाफदेहिता, दलका नेताहरूको इशारामा होइन।
-
भ्रष्टाचार र पद–पैसाको खेलमा विराम।
-
दीर्घकालीन योजना र राष्ट्रिय गौरव जगाउने नेतृत्व।
नेपालजस्तो बहुभाषिक, बहुजातीय र भूगोलमा कठिन मुलुकलाई अब दलदलभन्दा माथि उठाउने यही बाटो हो। संसद् नीति निर्माण र निगरानीमा सीमित रहोस्, तर कार्यपालिका प्रत्यक्ष जनमतबाट चुनिएको एक दृढ नेतृत्वको हातमा जाओस्।
जेनजी पुस्ताको आन्दोलन केवल विद्रोह होइन, यो परिवर्तनको आह्वान हो। पुरानो राजनीतिक ढर्राले अब यो पुस्तालाई थाम्न सक्दैन। त्यसैले— अबको विकल्प, अबको बाटो, अबको आवश्यकता—प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली हो। यही बाटोले मात्र नेपाललाई स्थिरता, विकास र आशाको नयाँ यात्रातर्फ डोर्याउनेछ।
हाम्राे पहुँच डटकम
















































हाम्रो पहुँच संवाददाता । २५ भाद्र २०८२, बुधबार